काठमाडौं । नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको अटो शोमा बाढीका कारण सवारीसाधनको आपूर्तिमा समस्या हुने चिन्ता देखिए पनि व्यवसायीहरूले बुकिङ गरेका गाडी दशैं–तिहारसम्म ग्राहकलाई उपलब्ध गराउने बताएका छन् ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवागढी–केरुङ नाका जोड्ने सडक तथा भन्सार क्षेत्रमा क्षति पुर्याएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधनको आपूर्ति प्रभावित भएको छ । तर, व्यवसायीहरूले तातोपानी र कोरोला लगायतका वैकल्पिक नाका तथा मार्ग प्रयोग गरेर सवारीसाधन ल्याउने तयारी थालेका छन् ।
बाढीका कारण केरुङ नाकाबाट सवारीसाधनको आयात प्रभावित भए पनि नाडा अटो शोमा बुकिङ भएका गाडीको डेलिभरीमा ठूलो समस्या नहुने व्यवसायीहरूको दाबी छ । उनीहरूले दशैं तथा तिहारलाई लक्षित गरेर सवारीसाधनको आपूर्ति व्यवस्थापन गर्ने बताएका छन् । बजारमा लोकप्रिय विद्युतीय ब्राण्ड बीवाईडीले कोरोला नाका हुँदै गाडी ल्याउने तयारी गरेको छ । साइमेक्स इंकका म्यानेजर आशिष शाक्यले कम्पनीले पहिले नै विभिन्न भन्सार बिन्दु प्रयोग गर्दै आएकाले कुनै एउटा नाकामा समस्या हुँदा आपूर्तिमा ठूलो असर नपर्ने बताएका छन् ।
त्यस्तै, दिपलका विद्युतीय गाडी थाइल्याण्डमा उत्पादन भई भारत हुँदै वीरगञ्ज भन्सारबाट नेपाल आउने भएकाले आपूर्तिमा ठूलो समस्या नहुने एमएडब्ल्यू वृद्धिका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर चन्दले बताए । उनका अनुसार नाडा अटो शोमा बुकिङ भएका सबै दिपल गाडी तिहारभित्र ग्राहकलाई उपलब्ध गराइनेछ ।
एमएडब्ल्यू ग्रुपका कार्यकारी निर्देशक मिलनबाबु मल्लले पनि नाडा अटो शोमा चर्चामा रहेको नामी भिगोका गाडी चाडपर्वको समयमा उपलब्ध गराउने जानकारी दिए । उनका अनुसार रसुवा भन्सार क्षेत्रमा बाढीले कम्पनीका करिब १५० वटा नामी ईभी बगाएको भए पनि अब बुकिङ भएका तथा आगामी दिनमा बुकिङ हुने गाडी वैकल्पिक मार्गबाट नेपाल ल्याइनेछ ।
चीनबाट विभिन्न ब्राण्डका सवारीसाधन आयात गर्ने व्यवसायीहरूले पनि वैकल्पिक नाका र मार्ग प्रयोग गर्ने तयारी थालेका छन् । सीजी मोटर्सले आयोन र रिडारा, जगदम्बा मोटर्सले प्रोटोन, पारामाउन्ट मोटर्सले एमजी र विलिङ तथा एसपीजी अटोमोबाइल्सले ओमोडा, जेको, चेरी, क्यूआर आइकार लगायतका ब्राण्ड आयात गर्दै आएका छन् ।
व्यवसायीहरूले नाडा अटो शोमा ग्राहकले गरेको बुकिङ प्रभावित हुन नदिने र वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि दशैं–तिहारको बजारलाई लक्षित गर्दै सवारीसाधन उपलब्ध गराउने तयारी थालेका छन् । नाडा अटो शो २०२६ भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुँदैछ ।





