शिक्षक भर्नामा आर्थिक चलखेलको आरोप, विद्यालयमा वडाध्यक्षले लगाए ताला



सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित जागेश्वर गहिराइ जनता माध्यमिक विद्यालयमा शिक्षक–कर्मचारी भर्नामा आर्थिक चलखेल भएको आरोप लगाउँदै वडाध्यक्ष सूर्यकुमार दासले विद्यालय प्रशासन कक्षमा तालाबन्दी गरेका छन्।

विद्यालयमा प्लस टु र प्राविधिक धारका पाँच पदमा करार नियुक्तिका लागि शनिबार परीक्षा तोकिएको थियो। तर, भर्ना प्रक्रियामा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षा समन्वय अधिकारीबीच मिलेमतो भएको आरोप लगाउँदै वडाध्यक्ष दासले परीक्षा रोक्न तालाबन्दी गरेका हुन्।

यसअघि बुधबारका लागि तोकिएको परीक्षा पनि विवादका कारण स्थगित भएको थियो। वडाध्यक्ष दासले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमाथि छलफल नभएसम्म तालाबन्दी नखोल्ने बताएका छन्। यस विषयमा प्रतिक्रिया लिन खोज्दा प्रधानाध्यापक भोला यादव सम्पर्कमा आउन चाहेनन्।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार