गगनलाई प्रदीप पौडेलको पनि साथ, समर्थकमा हस्ताक्षर गर्ने



गगनलाई प्रदीप पौडेलको पनि साथ, समर्थकमा हस्ताक्षर गर्ने

नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापालाई अर्का युवा नेता प्रदीप पौडेलले पनि समर्थन गर्ने भएका छन्।
गएको महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट महामन्त्री उठेका पौडेलले काठमाडौं- ५ बाट संसदीय निर्वाचन जितेका थिए।
उनले पार्टीको संसदीय दलको नेतामा भने थापालाई समर्थन गर्ने भएका हुन्।

निर्वाचन अघिदेखि नै महामन्त्री थापाले संसदीय दलको नेतामा दाबी गर्दै आएका थिए। कांग्रेस महाधिवेशनका बेला एउटै समूहबाट सभापति उठेका शेखर कोइरालाले पनि गगन थापालाई संसदीय दलको नेता बनाउन सहमत भएका छन्। उनी थापाको समर्थक बन्ने तय भइसकेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

आज लैनचौरस्थित एम्बास्डर होटलमा भएको संस्थापनइतर समूहको भेलाले नेता शेखर कोइरालाको प्रस्तावमा महामन्त्री थापा संसदीय दल नेता उठ्ने समझदारी बनेको हो।१५ औं महाधिवेशनमा महामन्त्री थापासहितले नेता कोइरालालाई सहयोग गर्ने गरी समझदारी बनेको एक नेताले सेतोपाटीलाई बताए।

संस्थापनइतर समूहबाट नेता कोइराला र थापा संसदीय दल नेताका लागि उम्मेदवार हुन खोजेपछि एक जना मात्रै उम्मेदवार उठाउन केही दिनदेखि संस्थापनइतर समूहको भेला हुँदै आएका थिए।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि संसदीय दल नेताको उम्मेदवारका लागि गगन थापालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।
संस्थापन समूहबाट भने सभापति शेरबहादुर देउवा संसदीय दल नेताका लागि उम्मेदवार हुने पक्का छ। अब संसदीय दल नेताका लागि देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्ने हुन्छ। मनोनयन दर्ताका लागि कांग्रेसले ५१ हजार शुल्क तोकेको छ।

कांग्रेसमा प्रतिनिधि सभामा ८९ जना सांसद छन्। उनीहरूले बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान गरेर दल नेता चयन गर्नेछन्।

प्रकाशित मिति : २०७९ पुष ५ गते मङ्गलवार