काठमाडौं । भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्निर्माणका लागि स्वदेश तथा विदेशबाट करिब ३२ अर्ब रुपैयाँ सहयोगको प्रतिबद्धता आएको छ । अर्थ मन्त्रालयका अनुसार विभिन्न दातृ निकाय, मित्रराष्ट्र, निजी क्षेत्र तथा सर्वसाधारणबाट आएको सहयोगमध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा २ अर्ब रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ।
विश्व बैंकले ‘र्यापिड रेस्पोन्स अप्सन’मार्फत करिब २५ अर्ब रुपैयाँसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, यूएईले करिब १ अर्ब ५३ करोड, बेलायतले १ अर्ब ४ करोड, एडीबीले ७६ करोड, अष्ट्रेलियाले ५५ करोड, संयुक्त राष्ट्रसंघीय निकायले ३८ करोड र युरोपियन युनियनले ३५ करोड ६० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
भारत र चीनलगायत अन्य मुलुकबाट पनि सहयोगको प्रतिबद्धता तथा राहत सामग्री प्राप्त भएको मन्त्रालयले जनाएको छ। स्वदेशतर्फ पनि सहयोग जुट्ने क्रम जारी छ। शुक्रबार मात्रै विभिन्न २७ संस्था तथा व्यक्तिले ३८ करोड ५६ लाख रुपैयाँभन्दा बढी राहत कोषमा जम्मा गरेका छन्। सूर्य नेपाल, बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी लगायतले ठूलो रकम सहयोग गरेका छन्।
अर्थ मन्त्रालयका अनुसार पछिल्लो ३६ घण्टामा मात्रै विभिन्न बैंक खातामार्फत १ अर्ब ९१ करोड ८६ लाख रुपैयाँभन्दा बढी संकलन भएको थियो। यससँगै कोषको बचत रकम ४ अर्ब ९ करोड रुपैयाँभन्दा बढी पुगेको छ।
प्रधानमन्त्री बालेन शाहका अनुसार बाढी प्रभावित १५ स्थानीय तहमा तत्काल राहत, उद्धार तथा व्यवस्थापनका लागि कोषबाट ६ करोड ७५ लाख रुपैयाँ खर्च भइसकेको छ।





