नाइमा नेपाल मोबिलिटी एक्स्पोको भव्य उद्घाटन, पहिलो दिन २९ हजारभन्दा बढी दर्शक



काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ को दोस्रो संस्करण भव्य रूपमा सुरु भएको छ। मंगलबार नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा आयोजित विशेष समारोहबीच एक्स्पोको उद्घाटन गरिएको हो।

उद्घाटन समारोहमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको किनबेच गर्ने थलोमा मात्र सीमित नभई समग्र यातायात तथा गतिशीलता क्षेत्रलाई एउटै मञ्चमा जोड्ने साझा माध्यम भएको बताइन्। उनले बारम्बार परिवर्तन भइरहने नीतिगत व्यवस्थाका कारण व्यवसायीमा अन्योल र अनिश्चितता बढेको भन्दै नयाँ लगानी आकर्षित गर्न कठिनाइ भइरहेको धारणा राखिन्।
निजी क्षेत्र तथा सम्बन्धित सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्र नीतिगत परिवर्तन गर्न उनले सरकारलाई आग्रह गरिन्।
समारोहमा प्रहरी महानिरीक्षकले सवारीसाधन बिक्री गर्नु मात्रै व्यवसायको दायित्व नभएको उल्लेख गर्दै सुरक्षा क्षेत्रमा समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्न व्यवसायीलाई आग्रह गरे। उनले सवारीसाधनका ब्रान्ड तथा व्यवसायीले बिक्रीपछिको सेवामा विशेष ध्यान दिनुपर्ने बताए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्दै आएको गुनासो गरे। उनले अटोमोबाइललाई विलासिताको वस्तु नभई आवश्यकताको क्षेत्रका रूपमा बुझ्नुपर्ने धारणा राखे। नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये पर्ने भन्सार दर कायम रहेको उल्लेख गर्दै उनले विद्युतीय सवारीसाधनका लागि समेत स्थिर र दीर्घकालीन नीति आवश्यक रहेको बताए।

निजी क्षेत्र लगानीका लागि तयार रहेको भन्दै अध्यक्ष श्रेष्ठले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको भएको बताए।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो मात्रामा राजस्व उपलब्ध गराउने प्रमुख क्षेत्रमध्ये एक भएकाले यसलाई उच्च प्राथमिकताका साथ हेर्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले गतिशीलता क्षेत्र अब यातायातमा मात्र सीमित नभई मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको विषय बनेको बताए। उनले नेपालको कुल गार्हस्थ्य उत्पादनमा गतिशीलता क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गरे।

उनले बैंकिङ, बिमा, पर्यटन, निर्माण तथा सूचना प्रविधिलगायतका क्षेत्रसँग गतिशीलता क्षेत्रको प्रत्यक्ष अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै यसलाई विलासिता वा उपभोगको क्षेत्रका रूपमा मात्र नहेरी आर्थिक विकासको प्रमुख आधारका रूपमा लिनुपर्ने बताए।
उद्घाटन समारोहमा नेपाल सरकारका विशिष्ट पदाधिकारी, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि, प्रतिष्ठित संघसंस्थाका पदाधिकारी, नाइमाका पदाधिकारी तथा सदस्य संस्था, प्रदर्शनी साझेदार संस्था र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।

पहिलो दिन ४८ नयाँ मोडल सार्वजनिक

एक्स्पोको पहिलो दिन विभिन्न सवारीसाधन कम्पनी तथा ब्रान्डले ४८ नयाँ मोडल सार्वजनिक गरेका छन्। पहिलो दिन नै २९ हजारभन्दा बढी दर्शकले एक्स्पोको अवलोकन गरेका आयोजकले जनाएको छ। एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिका लागि स्रोत परिचालन’ विषयमा विशेष छलफलसमेत आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष रितु सिंह वैद्य सहभागी थिए।

त्यस्तै, पहिलो दिनको सिकाइ सत्रमा मात्रै ३०० भन्दा बढीको सहभागिता रहेको थियो। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग क्षेत्रसँगको अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन हुनेछन्।

कार्यक्रममा ग्रान्डी इन्टरनेसनल हस्पिटलको तर्फबाट ‘सडक दुर्घटनापछि आधारभूत जीवनरक्षा तथा तत्कालीन हेरचाह’ विषयमा जानकारीमूलक विशेष प्रस्तुति पनि दिइएको थियो।

विद्युतीय तथा नयाँ प्रविधिका सवारी मुख्य आकर्षण

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म अर्थात् ६ दिन सञ्चालन हुनेछ।

एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि विभिन्न नयाँ मोडलका विद्युतीय कार, विद्युतीय स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनीका प्रमुख आकर्षण बनेका छन्।
सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले विशेष छुट तथा सहुलियतपूर्ण कर्जाका योजनासमेत सार्वजनिक गरेका छन्।

एक्स्पोको सहप्रायोजकमा ग्लोबल आइएमई बैंक, मुख्य प्रवर्द्धकमा रेडबुल, बैंकिङ साझेदारमा एनएमबी बैंक र सिद्धार्थ बैंक रहेका छन्। बिमा साझेदारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स रहेका छन्।

प्रविधि साझेदारमा बोस (बोस्च), शिक्षा साझेदारमा ग्लोबल कलेज र एम्बार्क कलेज, विद्युतीय सवारी चार्जिङ साझेदारमा अग्नि इनर्जी तथा अजायल इन्जिनियरिङ सोलुसन्स रहेका छन्। राइड साझेदारमा पठाओ नेपाल, जलपान साझेदारमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड), आतिथ्य साझेदारमा द सोल्टी काठमाडौं र स्वास्थ्य साझेदारमा ग्रान्डी इन्टरनेसनल हस्पिटल रहेका छन्।

त्यस्तै, सुरक्षा निगरानी साझेदारमा भत्सल इम्पेक्स (हिकभिजन) तथा आगलागी र सुरक्षा साझेदारमा हिट्को रहेका छन्।
टिकटिङ साझेदारमा आइएमई खल्ती, क्यूआर साझेदारमा युनियनपे, श्रव्यदृश्य साझेदारमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क, डिजिटल साझेदारमा डिजिपल सोलुसन्स, सवारी सुरक्षा साझेदारमा एटीएस नेपाल, व्यवस्थापन साझेदारमा मिडिया स्पेस सोलुसन्स, सञ्चार तथा इन्टरनेट साझेदारमा वल्र्डलिंक कम्युनिकेसन्स र प्रकाशन साझेदारमा प्रफिट मिडिया रहेका छन्।

दिगो, सुरक्षित, हरित र प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन तथा नेपालको गतिशीलता क्षेत्रलाई नयाँ दिशातर्फ अघि बढाउने उद्देश्यसहित आयोजना गरिएको एक्स्पोमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन, लगानी, नीति तथा यातायात क्षेत्रका समसामयिक विषयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति : २०८३ साउन २६ गते मङ्गलवार