टुर्गानको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न, पर्यटक पथप्रदर्शकलाई ध्वनि उपचार र बौद्ध संस्कृतिबारे जानकारी



काठमाडौं । टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान)को आयोजनामा पर्यटक पथप्रदर्शकहरूको व्यावसायिक ज्ञान, सीप तथा सांस्कृतिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले एकदिने जानकारीमूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

भदौ ७ गते ठमेलको पक्नाजोलस्थित गोकर्ण हाउस रेष्टुरेन्टमा आयोजित कार्यक्रममा विभिन्न भाषामा सेवा प्रदान गर्दै आएका ५५ जना पर्यटक पथप्रदर्शकको सहभागिता रहेको थियो।

कार्यक्रमको पहिलो सत्रमा हिलर तथा पर्यटक पथप्रदर्शक निराजन तिवारीले ‘सिङ्गिङ बाउल’, ‘गोङ’, ‘टिङ्शा’ र ‘बेल’ लगायत परम्परागत ध्वनि वाद्यका बारेमा जानकारी दिएका थिए। उनले ती वाद्यको प्रयोग, आकार, मोटाइ, कम्पन तथा ध्वनिको उपयोगिताका साथै ‘साउन्ड मेडिटेसन’, ‘साउन्ड हिलिङ’ र नादयोगको अवधारणाबारे प्रशिक्षण दिएका थिए।

तिवारीले ‘वेलनेस टुरिजम’ तथा ‘हिलिङ थेरापी’लाई ध्वनि, संस्कृति र धर्मसँग जोडेर पर्यटकसमक्ष प्रस्तुत गर्ने तरिकाबारे जानकारी दिँदै पाँच मिनेटको ‘साउन्ड मेडिटेसन’ समेत गराएका थिए। उनले हिलिङ थेरापीलाई चिकित्सकीय उपचारका रूपमा अतिरञ्जित नगर्न र यसको प्रयोग गर्न नहुने व्यक्ति तथा अवस्थाबारे पर्यटकलाई सचेत गराउन आग्रह गरे।

अर्का हिलर तथा पर्यटक पथप्रदर्शक उपदेश कुँवरले विभिन्न ‘साउन्ड बाथ सेटिङ’बारे दृश्यात्मक प्रस्तुति दिएका थिए। त्यसपछि सहभागीलाई दुई समूहमा विभाजन गरी सिङ्गिङ बाउल, गोङ, बेल र टिङ्शाको प्रयोगसहित ३०–३० मिनेटको व्यावहारिक ‘साउन्ड बाथ’ अभ्यास गराइएको थियो।

दिवा खानापछि बौद्ध विचारधाराका ध्यानी तथा भोटविज्ञ प्रा. पुण्यप्रसाद पराजुलीले बुद्ध धर्मको इतिहास, हिमाली तथा तिब्बती क्षेत्रमा यसको विकास र स्थानीय संस्कृतिसँगको सम्बन्धबारे प्रशिक्षण दिएका थिए।
पराजुलीले बुद्ध र बोन धर्मबीचको ऐतिहासिक सम्बन्ध, लामा तथा भिक्षुको भूमिका, बोधिसत्वको अवधारणा र तिब्बतमा बौद्ध धर्मको विस्तारका विषयमा प्रकाश पारे। उनले नेपाल र तिब्बतबीचको बौद्ध धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत विशेष रूपमा प्रस्तुत गरेका थिए।

प्रशिक्षणका क्रममा फर्पिङमा गुरु पद्मसम्भवले गरेको साधना, उहाँसँग जोडिएका ऐतिहासिक प्रसङ्ग, सम्भोटा लिपिको विकास तथा नेपालबाट तिब्बतमा पुगेको बौद्ध ज्ञान र सांस्कृतिक प्रभावबारे समेत जानकारी दिइएको थियो।

त्यस्तै, मुस्ताङको लो–घेकर गुम्बाको इतिहास तथा धार्मिक–पुरातात्त्विक महत्त्वबारे चर्चा गर्दै पराजुलीले यसको नामको अर्थ, स्थापना र हिमाली क्षेत्रको प्राचीन बौद्ध विहारका रूपमा रहेको महत्त्वबारे जानकारी दिएका थिए। पद्मसम्भवसँग जोडिएका विभिन्न स्थानीय धार्मिक आख्यान तथा हिमाली क्षेत्रमा बौद्ध धर्मको विस्तारसँग सम्बन्धित कथाहरू पनि उनले प्रस्तुत गरेका थिए।

प्रवचनका क्रममा पद्मसम्भवको उत्पत्ति तथा नामकरण, फर्पिङस्थित असुर गुफामा गरिएको ध्यानसाधना तथा बौद्ध धर्मसम्बन्धी अध्ययनका लागि उपयोगी पुस्तक र सामग्रीबारे समेत जानकारी दिइएको थियो।
कार्यक्रममा सहभागी पथप्रदर्शकहरूले बौद्ध धर्म, दलाई लामा तथा औतारी लामाको परम्परा, अवलोकितेश्वरको मन्त्र, बौद्ध सिद्धान्त, लोकेश्वर गुम्बा, खुम्बु क्षेत्रका माने तथा बौद्ध प्रतीकका विषयमा जिज्ञासा राखेका थिए। ती जिज्ञासाको पराजुलीले करिब ३० मिनेट लगाएर जवाफ दिएका थिए।

टुर्गान अध्यक्ष प्रभा लक्ष्मी प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले स्वागत मन्तव्य दिँदै प्रशिक्षणको उद्देश्यबारे जानकारी दिएकी थिइन्। संस्थाका वरिष्ठ उपाध्यक्ष टंक दवाडीले धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रमको समापन गर्दै टुर्गानका महासचिव तथा कार्यक्रमका उद्घोषक सुविन सितिखूले आगामी सेप्टेम्बर ४ मा गौशालामा पर्यटक पथप्रदर्शकहरूको बृहत् सम्मेलन आयोजना गरिने जानकारी दिएका थिए।

प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार