इरानसँग सबै व्यापारिक तथा वित्तीय कारोबार रोक्यो यूएईले



काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापार, व्यावसायिक आदानप्रदान तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्मका लागि निलम्बन गरेको छ । यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै जाँदा त्यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा असर पारिरहेको भन्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

यूएईको यो निर्णय इरानबाट दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार भएको दाबीपछि आएको हो । यूएईको रक्षा मन्त्रालयका अनुसार उसको हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार गरिएका दुई ब्यालेस्टिक मिसाइल पत्ता लगाएको थियो । तीमध्ये एउटा यूएईको क्षेत्रीय जलक्षेत्रबाहिर र अर्को क्षेत्रीय जलक्षेत्रभित्र समुद्रमा खसेको थियो । यूएईले ती मिसाइल समुद्री यातायातलाई लक्षित गरी प्रहार गरिएको जनाएको छ ।

तर इरानले भने यूएईको आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इरानबाट यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार भएको दाबीलाई असत्य र निराधार बताएका छन् ।

यूएई–इरान सम्बन्धमा पछिल्लो निर्णयलाई ठूलो आर्थिक तथा कूटनीतिक कदमका रूपमा हेरिएको छ । लामो समयदेखि राजनीतिक तथा सुरक्षा तनाव रहे पनि यूएई र इरानबीच व्यापारिक सम्बन्ध कायम रहँदै आएको थियो । विशेषगरी दुबई इरानी व्यवसायका लागि महत्वपूर्ण व्यापारिक केन्द्रका रूपमा रहँदै आएको छ ।

पछिल्लो समय होर्मुज जलडमरूमध्यमा बढेको तनावले पनि यूएई–इरान सम्बन्धलाई थप प्रभावित गरेको छ । यसअघि यूएईले इरानमाथि आफ्ना ऊर्जा कम्पनीसँग सम्बन्धित पानीजहाजमाथि आक्रमण गरेको आरोप लगाएको थियो ।

यूएईले व्यापार तथा वित्तीय कारोबार रोक्ने निर्णय कति समय कायम रहने भन्नेबारे कुनै निश्चित समयसीमा तोकेको छैन । विदेश मन्त्रालयले ‘अर्को आदेश नभएसम्म’ सबै व्यापारिक, व्यावसायिक तथा वित्तीय कारोबार रोकिएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार