पिकलबल विश्वकपका लागि नेपालको टोली घोषणा



काठमाडौं । आगामी अगस्ट ३० देखि सेप्टेम्बर ६ सम्म भियतनामको दा नाङमा आयोजना हुने पिकलबल विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरिएको छ।

पिकलबल एसोसिएसन नेपालले मंगलबार एक कार्यक्रम आयोजना गरी विश्वकपमा सहभागी हुने नेपाली खेलाडीको टोली सार्वजनिक गरेको हो। प्रतियोगितामा नेपालले १९ देखि ४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी तथा ५० वर्षमाथिको सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्नेछ।

सिनियर टोलीमा हर्ष सागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान रहेका छन्।
त्यस्तै, ओपन क्याटेगोरीमा ज्याक्सन सुवेदीको कप्तानीमा सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्ष्या राना, सञ्जील कंसाकार र किरण खनाल सहभागी हुनेछन्।

विश्वकपमा नेपालले विभिन्न देशका खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पिकलबलमा आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति थप मजबुत बनाउने लक्ष्य लिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि ५ लाख अमेरिकी डलर रहेको छ।

पिकलबल र्‍याकेट खेलको एक स्वरूप हो, जसमा टेनिस, ब्याडमिन्टन र टेबल टेनिसका केही विशेषता समेटिएका हुन्छन्। यस खेलमा प्याडल र प्वाल भएको हल्का प्लास्टिकको बल प्रयोग गरिन्छ। टेनिसको तुलनामा सानो कोर्टमा नेट राखेर खेलिने पिकलबल एकल वा दुई–दुई जनाको टोली बनाएर खेल्न सकिन्छ।

नियम तुलनात्मक रूपमा सरल र खेल्न सहज भएकाले पिकलबल पछिल्लो समय विश्वभर लोकप्रिय बन्दै गएको छ। विशेषगरी अमेरिकाबाट तीव्र रूपमा विस्तार भएको यो खेल अहिले शारीरिक सक्रियता, मनोरञ्जन तथा सामाजिक सहभागिताका लागि पनि लोकप्रिय खेलका रूपमा स्थापित हुँदै गएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार