काठमाडौँ। जुलाई १९ मा हुने फिफा विश्वकप २०२६ को फाइनलमा युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिना आमनेसामने हुँदै छन्। विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा हुने यस खेलको मुख्य आकर्षण अर्जेन्टिनाका कप्तान लियोनल मेसी र स्पेनका युवा स्टार लामिन यामलबीचको सम्भावित प्रतिस्पर्धा बनेको छ।
बार्सिलोनाका १९ वर्षीय विंगर यामलले हालै दिएको एक अन्तर्वार्तामा बाल्यकालमा मेसीसँग खिचिएको चर्चित तस्बिर सम्झँदै विश्वकप फाइनलमा आफ्ना आदर्श खेलाडीसँग मैदान सेयर गर्ने सपना पूरा हुन लागेको बताएका छन्।
डीएजेडएनसँग कुरा गर्दै यामलले भने, “म अलिकति ठूलो भएको छु, लियो पनि। फाइनलिसिमामा खेल्न पाइएन, त्यसैले आशा छ विश्वकपको फाइनलमा उहांविरुद्ध खेल्न पाउनेछु।”
२००७ को एउटा तस्बिर, जसले दुई पुस्तालाई जोड्यो
सन् २००७ मा बार्सिलोना फाउन्डेसनको परोपकारी अभियानका क्रममा २० वर्षीय लियोनेल मेसीले फोटोसुटका क्रममा केवल छ महिनाका लामिन यामललाई काखमा लिएर तस्बिर खिचाएका थिए।
त्यतिबेला कसैले पनि कल्पना गरेको थिएन की मेसी विश्व फुटबल इतिहासका महान् खेलाडीमध्ये एक बन्ने छन् र त्यही शिशु यामल दुई दशक नपुग्दै विश्व फुटबलकै सर्वाधिक प्रतिभाशाली युवा खेलाडीमध्ये एकका रूपमा उदाउने छन्।
यामलले बार्सिलोनाको पहिलो टोलीबाट उत्कृष्ट प्रदर्शन गर्न थालेपछि उक्त तस्बिर सामाजिक सञ्जालमा फेरि भाइर ल बनेको थियो।
अब फोटोसुट होइन, विश्वकपको उपाधिका लागि भिडन्त
करिब दुई दशकअघि एउटै तस्बिरमा देखिएका मेसी र यामल अब विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा प्रतिद्वन्द्वीका रूपमा उत्रिने सम्भावना छ।
यसपटक उनीहरू कुनै च्यारिटी कार्यक्रम वा फोटोसुटका लागि होइन, फिफा विश्वकप २०२६ को ट्रफी जित्ने लक्ष्य र इतिहासमा आफ्नो नाम अझ मजबुत बनाउने अवसरका लागि आमनेसामने हुने छन्। यही कारण पनि स्पेन–अर्जेन्टिना फाइनल विश्वभरका फुटबल समर्थकका लागि विशेष आकर्षणको केन्द्र बनेको छ।






