पेरिस — विश्वकप फुटबलको फाइनलमा स्पेनका खेलाडीहरुसँग झगडा गरेका कारण मिडफिल्डर लिएन्द्रो पारेडेज र अन्य धेरै अर्जेन्टिनाका खेलाडीहरुलाई निलम्बनमा पर्नुका साथै उनीहरुलाई जरिवाना लगाइएको विश्व फुटबलको सर्वोच्च संस्था फिफाले शुक्रबार जनाएको छ ।
पारेडेजलाई १० अन्तर्राष्ट्रिय खेलका लागि निलम्बन गरिएको छ भने उनीमाथि ९० हजार डलर जरिवाना लगाइएको छ । जुलाई १९ मा न्यु जर्सीमा भएको विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना १–० ले पराजित भएपछिको झोंकमा उनले इरिक गार्सियाको घाँटीमा समोतका थिए भने गाभीसँग घम्साघम्सी गरेका थिए ।
पारेडेजको उक्त स्विकार गर्न नसकिने व्यवहारपछि दुवै टोलीका खेलाडीहरु एक अर्कामा जाइलागेका थिए । अर्जेन्टिनाका नाहुइल मोलिनामाथि ७ खेलमा निलम्बन लगाइएको छ भने उनलाई पनि ९० हजार डलर जरिवाना तोकिएको छ । थिएगो अलमाडा र पाब्लो मार्टिन पाइज गाभिरा दुवैलाई समान १ खेल खेल्न निलम्बन लगाइएको छ भने ३० हजार डलर जरिवाना तोकिएको छ ।
अर्जेन्टिनी फुटबल टोलीलाई पनि फिफाले कारबाही तोकेको छ, जसअनुरुप अर्जेन्टिनाले अब अगामी दुई घरेलु खेल बन्द रंगशालामा खेल्नु पर्नेछ । फिफाको अनुशासन उल्लंघन गरेकोमा अर्जेन्टिनामाथि ३ लाख २१ हजार डलर जरिवाना तोकिएको छ । सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ को विजय हात पारेपछि अर्जेन्टिनाका धेरै खेलाडीले ‘फोकल्यान्ड हाम्रो हो’ ब्यानर प्रर्दशन गरेका थिए ।






