काठमाडौं । नेपालमा पहिलोपटक आयोजना हुन लागेको पुरुष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लिग (एनभीएल) को आगामी संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन सम्पन्न भएको छ।
लिग आयोजक केडिया ग्रुपले बुधबार काठमाडौंस्थित हार्ड रक क्याफेमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको तयारी, खेलतालिका तथा लिगसँग सम्बन्धित विभिन्न विषय सार्वजनिक गरेको हो।

नेपाल भलिबल संघको स्वीकृतिमा केडिया ग्रुपले आयोजना गर्न लागेको एनभीएलको पहिलो संस्करण भदौ १९ देखि २७ गतेसम्म (सेप्टेम्बर ४ देखि १२) काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुनेछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
लिगमा मधेश वारियर्स, सगरमाथा स्म्यासर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज र खप्तड फाल्कन्सले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार प्रतियोगितामा कुल १७ खेल हुनेछन्।
भदौ १९ गते हुने उद्घाटन खेलमा मधेश वारियर्स र सगरमाथा स्म्यासर्स आमनेसामने हुनेछन्। सोही दिन दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुनेछ। लिग चरणपछि दोस्रो र तेस्रो स्थानमा रहने टोलीबीच प्लेअफ तथा त्यसको विजेता र पहिलो स्थानमा रहने टोलीबीच फाइनल खेल हुनेच।
एनभीएललाई नेपाली भलिबललाई व्यावसायिक र प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ। आयोजक केडिया ग्रुपका अनुसार लिगको मुख्य उद्देश्य नेपाली खेलाडीलाई व्यावसायिक मञ्च प्रदान गर्दै भलिबलको स्तर र लोकप्रियता थप उकास्नु हो।
लिगको शीर्ष प्रायोजक एक्स्ट्रिम इनर्जी ड्रिङ्क रहेको छ। एनभीएलले ‘उचाइको नयाँ उडान’ नारासहित प्रतियोगिता आयोजना गर्दैछ।







