भक्तपुर । अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा भक्तपुरमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था, आगामी कार्ययोजना तथा सदस्यको हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरी आवश्यक निर्णयहरू गरिएको छ।
सभामा वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता कृष्णहरि आचार्य प्रमुख अतिथिका रूपमा तथा वडा नं. २ का अध्यक्ष प्रदीप कार्की विशेष अतिथिका रूपमा सहभागी भएका थिए। संस्थाका पूर्वअध्यक्ष मुकुन्दप्रसाद दाहाललगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो।
साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत सचिवको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्यय तथा बजेट, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन र आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण प्रतिवेदन पनि छलफलपछि पारित गरिएको छ।
सभाबाट आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, आर्थिक वर्ष २०८२/०८३ को लाभांश तथा संरक्षित पुँजीकोष बाँडफाँट गर्ने, ब्याजदर परिवर्तनसम्बन्धी अख्तियारी प्रदान गर्ने तथा संस्थाको विनियम र विभिन्न कार्यविधि संशोधन तथा निर्माण गर्ने प्रस्तावसमेत पारित भएका छन्।
यसैगरी सञ्चालक समिति तथा लेखा तथा सुपरिवेक्षण समितिका पदाधिकारीको बैठक भत्ता तथा सेवा–सुविधा, आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालक समितिबाट भएका निर्णयको अनुमोदन, शेयर सदस्यबाट प्राप्त सुझाव तथा साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न सदस्य छनोटलगायतका विषयमा समेत छलफल गरिएको थियो।
उत्कृष्ट विद्यार्थीलाई सम्मान
साधारण सभाको अवसरमा संस्थाले ‘अन्नपूर्ण उत्कृष्ट शैक्षिक सम्मान पुरस्कार–२०८३’ समेत प्रदान गरेको छ। एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
संस्थाले सदस्यको आर्थिक हितसँगै उनीहरूका परिवारका शैक्षिक उपलब्धिलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
सुशासन र पारदर्शितालाई प्राथमिकता दिन आग्रह
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कृष्णहरि आचार्यले सहकारी संस्था बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सदस्यको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने साझा संस्था बन्नुपर्ने बताए। उनले सदस्यको विश्वास कायम राख्न पारदर्शिता, सुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए।
विशेष अतिथि प्रदीप कार्कीले बदलिँदो आर्थिक परिस्थितिअनुसार
सहकारीले सदस्यको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै सेवा विस्तार गर्नुपर्ने बताए। सहकारीको दिगोपनका लागि सदस्यको सक्रिय सहभागिता, संस्थागत अनुशासन र पारस्परिक विश्वास महत्वपूर्ण हुने उनको भनाइ थियो।
संस्थाका अध्यक्ष श्यामसुन्दर बस्नेतले अन्नपूर्ण बहुमुखी सहकारीलाई वर्तमान अवस्थासम्म ल्याउन शेयर सदस्य, पूर्वअध्यक्ष, सञ्चालक तथा कर्मचारीले पुर्याएको योगदानप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा संस्थालाई थप व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै सहकारीको मूल मर्मअनुसार अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
अध्यक्ष बस्नेतले ‘आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै सदस्यको विश्वासलाई संस्थाको प्रमुख पूँजीका रूपमा लिएर काम गरिरहेको बताए।
कार्यक्षेत्र विस्तार गर्दै सहकारी
अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेड २०५४ साल भदौ १२ गते तत्कालीन जिल्ला सहकारी कार्यालय भक्तपुरमा भक्तपुर जिल्लालाई कार्यक्षेत्र बनाएर विधिवत् दर्ता भएको हो। संस्थाले स्थापना भएको २८ वर्ष पूरा गरी २९औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो।
हाल संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्ला, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका तथा बूढानीलकण्ठ नगरपालिकाका वडा नं. १०, ११ र १२ एवं गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५, ६, ७, ८ र ९ सम्म विस्तार भएको संस्थाले जनाएको छ।
साधारण सभाले संस्थाले हालसम्म हासिल गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा सदस्यको विश्वास, संस्थागत सुशासन, पारदर्शिता र दिगो आर्थिक विकासलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।








