नेपालमा कफी उत्पादन ऐतिहासिक उचाइमा, एक वर्षमा ७९० मेट्रिक टन उत्पादन



काठमाडौं । नेपालमा कफी उत्पादनले ऐतिहासिक उचाइ हासिल गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा देशभर ७९० मेट्रिक टन ग्रीन बिन कफी उत्पादन भएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो समय नेपालमा कफी खेतीको क्षेत्रफल र उत्पादन दुवै विस्तार हुँदै गएको देखिएको हो।

बोर्डका अनुसार वि.सं. १९५९ सालमा गुल्मीको आपचौरबाट सुरु भएको नेपालको कफी खेती अहिले देशका करिब ४७ जिल्लामा फैलिएको छ। हाल मुलुकभर कफी खेती गरिएको कुल क्षेत्रफल ६ हजार १६६.६ हेक्टर पुगेको छ।

नेपाली कफीको स्वाद, गुणस्तर र विशिष्टताका कारण स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ। यद्यपि, आन्तरिक बजारको मागअनुसार स्वदेशी उत्पादन पर्याप्त हुन नसक्दा ठूलो परिमाणमा कफी आयात गर्नुपर्ने अवस्था कायमै रहेको छ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले २५९ मेट्रिक टन कफी आयात गरेको छ। उक्त आयातका लागि १९ करोड ४७ लाख १७ हजार रुपैयाँ विदेशिएको छ।

त्यस्तै, सोही अवधिमा नेपालबाट ७०.९ मेट्रिक टन अर्थात् ७० हजार ९८९ किलोग्राम कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात भएको छ। यसबाट नेपालले १४ करोड ४९ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले अन्य देशको तुलनामा आकर्षक मूल्य प्राप्त गरिरहेको भए पनि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न नसक्दा आयातमा निर्भरता कायम रहेको छ। उत्पादन वृद्धि, गुणस्तर सुधार र व्यावसायिक खेती विस्तार गर्न सके कफी आयात प्रतिस्थापन गर्दै निर्यातसमेत बढाउन सकिने सम्भावना रहेको छ।

उत्पादन वृद्धि र गुणस्तर सुधारमा जोड

यस वर्ष २२औँ राष्ट्रिय कफी दिवस ‘उत्पादनमा वृद्धि, गुणस्तर सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार’ भन्ने मूल नाराका साथ मनाइँदैछ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कफी क्षेत्रको समग्र विकासका लागि उत्पादन विस्तारसँगै प्रशोधन उद्योग स्थापना, आधुनिक प्रविधिको प्रयोग र गुणस्तर अभिवृद्धिमा जोड दिएको छ। साथै, युवा पुस्तालाई कफी खेतीमार्फत स्वरोजगार तथा उद्यमशीलतामा जोड्ने योजना पनि अघि बढाइएको छ।

नेपालमा कफी खेतीलाई परम्परागत प्रणालीबाट आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाउन सके आयात प्रतिस्थापनसँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको पहुँच विस्तार गर्न सकिने देखिन्छ। यसले किसानको आम्दानी वृद्धि, रोजगारी सिर्जना र कृषि क्षेत्रको आर्थिक योगदान बढाउनसमेत महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार