मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको विद्युतीय सवारी (ईभी) दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी गाडी सडकबाट करिब ७०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनाका बेला गाडीमा चालकसहित २० जना सवार रहेको खुलेको छ।
दुर्घटनालगत्तै सशस्त्र प्रहरीसहित सुरक्षाकर्मीको टोलीले उद्धार कार्य सुरु गरेको थियो। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये ११ जनाको शव हेटौंडा अस्पताल ल्याइएको थियो भने दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेको छ। फेला परेका तीन जनाको पहिचान खुल्न बाँकी रहेको छ।
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २५/२६ वर्षीय सुवेक यादव, आठ वर्षीया शिक्षा यादव, चार वर्षीया दिपिका कुमारी यादव, २५ वर्षीय सुवोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन्।
त्यस्तै, सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी ३० वर्षीय रवि शंकर कुमार मण्डल (चालक) को पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि हेटौंडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने तीन जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ।
डिस्चार्ज हुनेमा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र यादव रहेका छन्। त्यसैगरी, चितवन रिफर गरिएकामा तीन वर्षीय सुजन यादव, ३१ वर्षीय देवेन्द्र राय यादव र १६ महिनाका सुदिप यादव रहेका छन्। उनीहरूमध्ये देवेन्द्र राय यादवको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जनाको अवस्था मध्यम रहेको जनाइएको छ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनामा गाडीमा सवार २० जनामध्ये १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएका छन्।
















