परिवारसँग अटो शो घुम्दै हुनुहुन्छ ? ‘मेड इन नेपाल’ पेभिलियन नछुटाउनुहोस्



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ मा परिवारसहित पुग्ने दर्शकका लागि ‘मेड इन नेपाल/मेड फर नेपाल’ पेभिलियन विशेष आकर्षण बनेको छ। अटो शोमा सामान्यतया ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलका गाडी, मोटरसाइकल तथा विद्युतीय सवारीले दर्शकको ध्यान खिच्ने गर्छन्। तर, यसपटक नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई प्राथमिकता दिँदै छुट्टै पेभिलियन राखिएको छ।

नाडाका अनुसार उक्त पेभिलियनमा ८ वटा स्टल छन्। यहाँ नेपाली उद्योगले उत्पादन गरिरहेका विद्युतीय मोटरसाइकल तथा स्कुटर, नेपालमा एसेम्बल भएका कार, अटोमोटिभ ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट, टायर तथा विभिन्न अटोमोबाइल कम्पोनेन्टबारे जानकारी लिन सकिन्छ।

पेभिलियनमा यात्रीका विद्युतीय स्कुटर, नेपालमा एसेम्बल गरिएका मेटा ईभी, हुन्डाईका सवारीसाधन तथा एसियन ब्याट्रिजका उत्पादन प्रदर्शनमा राखिएका छन्। नेपालमा गाडी उत्पादनका लागि आवश्यक सबै सामग्री उत्पादन हुने अवस्था अझै नबने पनि ब्याट्री, लुब्रिकेन्ट, हेल्मेट र विभिन्न कम्पोनेन्ट उत्पादनमा नेपाली उद्योगको उपस्थिति विस्तार हुँदै गएको आयोजकले जनाएको छ।

बालबालिकाका लागि पनि उपयोगी
परिवारसँग अटो शो पुग्ने अभिभावकका लागि ‘मेड इन नेपाल’ पेभिलियन नेपाली उद्योग, प्रविधि, विद्युतीय सवारी र रोजगारी सिर्जनाबारे बालबालिकालाई जानकारी गराउने अवसरसमेत बन्न सक्छ। अटो शोमा नयाँ प्रविधिका रूपमा ह्युमानोइड रोबोट र क्वाड्रुपेड रोबोटसमेत राखिएका छन्। त्यस्तै, दर्शकले आफूलाई मन परेको ईभी, कार वा मोटरसाइकलको मूल्य, रेन्ज, फिचर्स तथा बिक्रीपछिको सेवाबारे कम्पनीका प्रतिनिधिसँग प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

२०० भन्दा बढी स्टल

नाडा अटो शो २०२६ मा तीन लाख वर्गफुट क्षेत्रमा २०० भन्दा बढी स्टल राखिएका छन्। आयोजकका अनुसार यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी ५३ वटा सवारी ब्रान्ड सहभागी छन्। यसका अतिरिक्त बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अटो पार्ट्स, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरणलगायत अटोमोबाइलसम्बन्धी विभिन्न उत्पादन पनि प्रदर्शनीमा राखिएका छन्।

नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले परिवारसँग अटो शो घुम्दा विदेशी ब्रान्डका सवारीसाधनसँगै नेपालमै बन्न थालेका सवारी तथा अटोमोबाइल सामग्रीको अवस्थाबारे पनि जानकारी लिन आग्रह गरेका छन्।

उनका अनुसार ‘मेड इन नेपाल’ पेभिलियन हेर्नु भनेको एउटा स्टल अवलोकन गर्नु मात्र नभई नेपालको अटोमोबाइल उद्योगको सम्भावना बुझ्नु पनि हो।

प्रकाशित मिति : २०८३ भाद्र १३ गते शनिवार