रास्वपा, कांग्रेस, एमाले र नेकपाका सांसद्ले लिए अमेरिकी संस्था एनडीआईको प्रशिक्षण



काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलका नेता तथा सांसदहरूले अमेरिकी संस्था ‘नेसनल डेमोक्रेटिक इन्स्टिच्युट’ (एनडीआई) को समन्वयमा विभिन्न विषयमा प्रशिक्षण लिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका नेता तथा सांसदलाई संसदीय लोकतन्त्र, पार्टी निर्माण, नेतृत्व, संघीयता, निर्वाचन क्षेत्र विकास, एआईको प्रयोग र साइबर सुरक्षालगायत विषयमा प्रशिक्षण दिइएको हो।

रास्वपाले बुढानीलकण्ठमा आयोजना गरेको दुई दिने कार्यशालामा एआई, सामाजिक सञ्जाल व्यवस्थापन र आधुनिक राजनीतिक पार्टी निर्माणबारे प्रशिक्षण दिइएको थियो। कांग्रेसलाई पार्टी कार्यालयमै एकदिने प्रशिक्षण दिइएको थियो।

त्यस्तै, एमाले र नेकपाका सांसदले बुढानीलकण्ठस्थित होटलमा करिब साढे दुई दिन प्रशिक्षण लिए। प्रशिक्षणमा पूर्वमन्त्री वर्षमान पुन, एमाले महासचिव शंकर पोखरेल, स्वर्णिम वाग्ले, सोबिता गौतमलगायत नेताहरू विज्ञका रुपमा सहभागी थिए।

पूर्व अमेरिकी सांसद स्टिभ ड्रिहाउसले संसदीय निगरानी, सांसदको आचारसंहिता, स्वार्थको द्वन्द्व, भ्रष्टाचार नियन्त्रण र सूचनादाता संरक्षणबारे प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा एआईको सुरक्षित प्रयोग, सामाजिक सञ्जालको एल्गोरिदम, गलत सूचना पहिचान तथा साइबर सुरक्षा पनि प्रमुख विषय बने। समापन कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले सचिव पद्मा अर्याल सहभागी भएका थिए।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार