किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको हुँ- रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई विगतमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् । उनले जनआन्दोलन र जनतामा जागेको आशालाई जोगाउन आफूले प्रधानमन्त्री पदको प्रस्ताव त्यागेको बताएका हुन् । रास्वपाले आज आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृङ्खलालाई सम्बोधन गर्दै लामिछानेले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा आफू २१ सिटको दलको नेता हुँदा प्रधानमन्त्री बन्ने प्रस्ताव आएको दाबी गरे ।

उनका अनुसार सरकार गठनका लागि उनको हस्ताक्षर मात्र आवश्यक पर्ने अवस्थामा प्रस्ताव आएको थियो । प्रधानमन्त्री बन्ने अवसर स्वीकार गरेको भए केही महिनाका लागि सरकारको नेतृत्व गर्न सक्ने भए पनि त्यसबेला आफूले व्यक्तिगत पदभन्दा आन्दोलन र जनताको अपेक्षालाई प्राथमिकता दिएको उनले बताए ।

‘२१ सिटको दलको नेता हुँदा मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएकै हो । हुन चाहेको भए गाह्रो थिएन,’ लामिछानेले भने, ‘त्यतिबेला एउटै कुरा दिमागमा आयो–यत्रो आन्दोलन र जनताको यत्रो आशा कहाँ जान्छ ? दुई–चार महिना वा ६ महिना प्रधानमन्त्री बन्थेँ होला । सिंहदरबारमा तस्बिर झुण्ड्याउँथे होला । तर देशले यत्रो आन्दोलन र परिवर्तन कुरेर बसेको थियो । मसँग यसलाई रोक्ने अधिकार थिएन ।’

उनले त्यही सोचका कारण आफूले ‘किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसी हाँसी नमस्कार गरेको’ बताए । लामिछानेले उक्त निर्णयलाई आफूले व्यक्तिगत रूपमा ठूलो त्यागका रूपमा प्रस्तुत गर्न नखोजेको पनि स्पष्ट पारे । इतिहासमा आफ्नो प्रतिबद्धता दर्ज होस् भन्ने उद्देश्यले मात्रै आफूले उक्त प्रसंग उल्लेख गरेको उनको भनाइ थियो ।

‘मैले यसलाई ठूलो गर्वको विषय बनाएको होइन । केवल इतिहासको पानामा दर्ज गर्न खोजेको हो । मैले ‘त्यागी’को उपाधि पाउने लोभले भनेको होइन,’ उनले भने, ‘यति प्रतिबद्धता चाहिँ चाहिन्छ भनेको हो ।’

प्रकाशित मिति : २०८३ भाद्र ७ गते आइतवार