कमेडियन अमरेन्द्रलाई आएको ‘धम्की’बारे सूर्य थापाको प्रतिक्रिया, भने– चर्चाका लागि गरिएको फन्डा पक्कै होइन होला



काठमाडौं । स्ट्यान्डअप कमेडियन अमरेन्द्र यादवले आफूलाई तीन दिनदेखि धम्की आएको सार्वजनिक गरेपछि नेकपा एमालेका नेता सूर्य थापाले प्रतिक्रिया दिएका छन् । यादवको भनाइले आफूलाई आश्चर्य लागेको थापाले बताएका छन् ।

यादवले सञ्चालन गर्ने ‘कमेडी बाज’को पछिल्लो एपिसोडमा थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकाल अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा यादवले दुवैलाई रोस्ट गरेका थिए भने थापासँग उनको सवाल–जवाफसमेत भएको थियो ।

थापाका अनुसार उनी यस्ता कार्यक्रममा सहभागी हुन खासै रुचि राख्दैनन् । तर कार्यक्रमका निर्देशक सुन्दर खनालले पटक–पटक आग्रह गरेपछि आफू अतिथि बन्न सहमत भएको उनले बताएका छन् ।

उनले आफूले उक्त कार्यक्रमको भिडियोसमेत सामाजिक सञ्जालमा सेयर गरेको उल्लेख गर्दै जुनसुकै प्रश्न, रोस्ट र आलोचना सुन्न तथा सामना गर्न आफू तयार रहेको बताएका छन् ।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्यक्रम प्रसारण भएपछि अमरेन्द्र यादवले धम्की आएको भनेर लामो स्टाटस लेखेको देख्दा आश्चर्य लागेको छ । चर्चामा आउन मच्चाएको फन्डा पक्कै होइन होला ।’

उनले अगाडि भनेका छन्, ‘जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो । म र मेरा समर्थकहरूले यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रूपमा लिनसक्ने सामर्थ्य राख्दछौँ ।’

यद्यपि, थापाले मनोरञ्जनका नाममा कार्यक्रम सस्तो र अनावश्यक रूपमा उडान भर्ने खालको हुन नहुने टिप्पणी गरेका छन् । ‘यस्ता कार्यक्रमहरू सन्देशमूलक नभएर सस्ता बन्नु र अनावश्यक उडान भर्न रमाउनु उचित होइन,’ उनले भनेका छन्।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार