विश्व एड्स दिवसमा एएचएफ नेपालको सांगीतिक कन्सर्ट, खल्ती एपबाट निःशुल्क दर्ता गर्न सकिने



काठमाडौं । विश्व एड्स दिवसको अवसर पारेर एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले सांगीतिक कन्सर्ट २०२६ आयोजना गर्ने भएको छ। एचआईभी/एड्ससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी डिसेम्बर १ अर्थात् मंसिर १६ गते कन्सर्ट आयोजना गर्न लागिएको हो।
एएचएफ नेपालले कन्सर्टबारे जानकारी दिन नोभेम्बर २५ मा काठमाडौंको नक्सालस्थित होलिडे इन एक्सप्रेसको संगम स्वर्णिम हलमा पत्रकार सम्मेलन आयोजना गरेको थियो। कार्यक्रममा सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

संगीत र मनोरञ्जनलाई सामाजिक सन्देशसँग जोडेर आयोजना गर्न लागिएको कन्सर्टले एचआईभी/एड्सबारे खुला संवाद र जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। कार्यक्रममा सांगीतिक प्रस्तुतिसँगै एचआईभी परीक्षणको महत्व, समयमै उपचार तथा संक्रमित व्यक्तिप्रति सम्मान र सहयोगको भावना अभिवृद्धि गर्ने विषयलाई प्राथमिकता दिइनेछ।

कन्सर्टमा सहभागी हुन इच्छुक व्यक्तिले खल्ती एपमार्फत निःशुल्क दर्ता गर्न सक्नेछन्। सहज दर्ता प्रक्रियामार्फत धेरैभन्दा धेरै व्यक्तिलाई जनचेतना र ऐक्यबद्धताको अभियानमा सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ।

एएचएफ नेपालका अनुसार एचआईभी/एड्ससँग सम्बन्धित सामाजिक लाञ्छना र भेदभाव अन्त्य गर्न सामूहिक प्रयास आवश्यक छ। गलत धारणा हटाउँदै एचआईभी संक्रमित व्यक्तिका लागि सम्मानजनक, सहयोगी र समावेशी वातावरण निर्माण गर्न कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

संगीत, जनसहभागिता र चेतनामूलक गतिविधिमार्फत विश्व एड्स दिवसलाई मनोरञ्जनसँगै सामाजिक जिम्मेवारी र पैरवीको अवसरका रूपमा मनाउने तयारी गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको व्यवस्थापन तथा सञ्चार समन्वय मार्स एड्भर्टाइजिङ एन्ड रिसर्च प्रालिले गरिरहेको छ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार