काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको मल्टिपर्पोज हलमा शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरणलगायत विभिन्न प्रस्तावमाथि छलफल गरेको छ।

साधारणसभामा सञ्चालक समितिको तर्फबाट कार्यकारी अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। त्यस्तै, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी अनुमोदन गरिएको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गरेको छ।
२५ प्रतिशत नगद लाभांश प्रस्ताव
सभामा आर्थिक वर्ष २०८२/८३ को नाफा तथा वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश (करसहित) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पेश गरिएको छ।
त्यसैगरी, कम्पनीको नियमावलीको नियम ३२ अनुसार कार्यकारी अध्यक्षको पारिश्रमिक वृद्धि तथा अन्य सुविधासम्बन्धी प्रस्तावमाथि पनि छलफल भएको छ।
स्वास्थ्य सेवा विस्तारमा जोड
कम्पनीले अस्पतालको स्तरवृद्धि गर्दै विभिन्न प्रकारका आधुनिक स्वास्थ्य उपकरण खरिद गरी स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारेको छ। आवश्यकताअनुसार स्वास्थ्य सेवा सञ्चालनका लागि घरजग्गा खरिद गर्न तथा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि सभामा राखिएको थियो।
हाइड्रो र सोलार क्षेत्रमा लगानी गर्ने योजना
व्यवसाय विस्तारका क्रममा समान उद्देश्य भएका कम्पनीहरू खरिद गर्ने तथा हाइड्रो इनर्जी र सोलार इनर्जीसम्बन्धी कम्पनीहरूको शेयरमा लगानी गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिएको छ।
काठमाडौं मेडिकल कलेजले आगामी दिनमा स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै अस्पतालको पूर्वाधार, उपकरण र सेवा विस्तारलाई प्राथमिकतामा राख्ने जनाएको छ।






