स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि ‘आरोग्य संवाद’ सम्पन्न



काठमाडौं । नेपाललाई विश्वस्तरको स्वास्थ्य तथा वेलनेस पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित “आरोग्य संवाद (Wellness Dialogue): आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श” कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम जेठ ४ गते ललितपुरस्थित रोयल टुलिप होटल, ग्वार्कोमा आयोजना गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठानअन्तर्गतको आरोग्य अध्ययन केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा सरकारी निकाय, निजी क्षेत्र, नीति निर्माता, पर्यटन तथा स्वास्थ्य क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल सरकारले घोषणा गरेको “नेपाल वेलनेस इयर २०२७”, स्वास्थ्य पर्यटन रणनीति तथा कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा गहन छलफल गरिएको थियो । साथै, स्वास्थ्य पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय अनुभव, पूर्वाधार विकास, मानव स्रोत क्षमता अभिवृद्धि तथा नीतिगत समन्वयका विषयमा समेत विमर्श भएको जनाइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको प्राकृतिक सम्पदा, योग, ध्यान, आयुर्वेद, आध्यात्मिक परम्परा तथा जैविक विविधतालाई स्वास्थ्य पर्यटनसँग जोडेर आर्थिक रूपान्तरणको नयाँ आधार निर्माण गर्न सकिने बताउनुभयो । उहाँले योग, ध्यान, आयुर्वेद र स्वास्थ्यसँग जोडिएका ऐतिहासिक एवं सांस्कृतिक आधारलाई अर्थतन्त्रसँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जीवन विज्ञान प्रतिष्ठानका संस्थापक भानु गुरुङले विश्व पर्यटन क्रमशः “वेलनेस टुरिज्म” तर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै नेपाल यस क्षेत्रका लागि उपयुक्त गन्तव्य बन्न सक्ने बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य, योग, ध्यान, प्राकृतिक उपचार र सांस्कृतिक अभ्यासलाई समेटेर स्वास्थ्य पर्यटन विस्तार गर्न सकिन्छ ।

कार्यक्रममा मन्त्रालयका सचिवहरू, राष्ट्रिय योजना आयोगका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपाललाई स्वास्थ्य पर्यटनको विश्वसनीय गन्तव्यका रूपमा स्थापित गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रले आगामी दिनमा स्वास्थ्य पर्यटन, मानसिक स्वास्थ्य, योग–ध्यान तथा प्राकृतिक उपचारसँग सम्बन्धित नीति संवाद र अध्ययनलाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ ५ गते मङ्गलवार