नेपाल मेडिसिटी र सिङ्गापुरको स्वास्थ्य संस्था बीच ज्ञान तथा अनुभव आदानप्रदानमा सहमति



काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र सिङ्गापुरको अग्रणी स्वास्थ्य सेवा संस्था सिङहेल्थबीच स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, बिरामी सुरक्षाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय मान्यतासम्बन्धी तयारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सिङ्गापुरमा आयोजित एक कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र सिङहेल्थका अन्तर्राष्ट्रिय सहकार्य समूह निर्देशक प्राध्यापक लन्डन लुसियन ओईले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा सिङहेल्थकी अन्तर्राष्ट्रिय सहकार्य निर्देशक विजया राव, अन्तर्राष्ट्रिय सहकार्य कार्यालयकी आइरिन एङ तथा नेपाल मेडिसिटी अस्पतालका व्यवसाय विकास, ब्रान्ड प्रवर्द्धन तथा बजार व्यवस्थापन विभागका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल बज्राचार्यलगायतको उपस्थिति रहेको थियो।

सम्झौताअनुसार दुवै संस्थाबीच स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन, बिरामी सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डको कार्यान्वयन तथा स्वास्थ्य संस्थाको मान्यतासम्बन्धी तयारीका विषयमा ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासको आदानप्रदान गरिनेछ । आवश्यकताअनुसार सञ्चालन प्रक्रिया, कार्यविधि, प्रोटोकल तथा अन्य प्राविधिक सामग्रीसमेत साझेदारी गरिने जनाइएको छ।

सिङहेल्थ सिङ्गापुरको सबैभन्दा ठूलो सार्वजनिक स्वास्थ्य सेवा समूह हो। यस संस्थाले स्वास्थ्य सेवा गुणस्तर, बिरामी सुरक्षा, चिकित्साशिक्षा तथा अनुसन्धानका क्षेत्रमा अन्तर्राष्ट्रिय पहिचान स्थापित गरेको छ।

विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको नेपाल मेडिसिटी अस्पतालले यस सहकार्यमार्फत सेवा गुणस्तर सुधार र बिरामी सुरक्षासम्बन्धी प्रयासलाई थप मजबुत बनाउने विश्वास लिएको छ । साथै अन्तर्राष्ट्रिय स्तरमा अभ्यासमा रहेका उत्कृष्ट प्रणाली र कार्यशैली अवलम्बन गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यस साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवर्द्धन गर्न, बिरामीको उपचार अनुभवलाई थप प्रभावकारी बनाउन तथा स्वास्थ्य सेवाप्रतिको जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहिवार