काठमाडौं । गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्क्वेटमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष प्रशान्त ढकालको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयर सदस्यलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभामा संस्थाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति विवरण, आर्थिक अवस्था, लेखापरीक्षण प्रतिवेदन तथा आगामी कार्ययोजनामाथि छलफल गरिएको थियो। साधारण सभाले सञ्चालक समितिका तर्फबाट प्रस्तुत अध्यक्षको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ।
त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, संरक्षित पुँजी फिर्ता कोष वितरण, अन्य कोषमा रहेको रकम जगेडा कोषमा स्थानान्तरण तथा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयनलगायतका प्रस्तावसमेत पारित गरेको छ।
६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने
संस्थाले सार्वजनिक गरेको आर्थिक विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्म संस्थाको शेयर पुँजी ३ करोड १० लाख ४ हजार ५ सय रुपैयाँ पुगेको छ। यसैगरी संस्थाले ४२ करोड ३३ लाख २८ हजार ६ सय ५३ रुपैयाँ २८ पैसा बचत संकलन गरेको छ भने ४० करोड ४४ लाख १८ हजार ३ सय ५० रुपैयाँ कर्जा लगानी गरेको छ।
समीक्षा अवधिमा संस्थाले ६८ लाख २ हजार १ सय ८७ रुपैयाँ ३३ पैसा खुद मुनाफा आर्जन गरेको छ। सोही मुनाफाबाट नियमानुसार विभिन्न कोषमा रकम विनियोजन गरी शेयर सदस्यलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको हो।

लेखा समिति निर्विरोध निर्वाचित
साधारण सभाले लेखा समितिको संयोजकमा डा. मनबहादुर खत्रीलाई निर्वाचित गरेको छ। त्यसैगरी लेखा समिति सदस्यमा यशोदा ढकाल र डा. बोधराज गौतम निर्विरोध निर्वाचित हुनुभएको छ।
निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सबै उम्मेदवारले २०८३ मंसिर १ गते उम्मेदवारी दर्ता गराउनुभएको थियो। निर्धारित निर्वाचन प्रक्रियाअनुसार लेखा समितिका पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित हुनुभएको जानकारी उहाँले दिनुभएको छ।
सदस्यको आर्थिक तथा सामाजिक स्तर उकास्ने उद्देश्य
२०६१ असोज ८ गते डिभिजन सहकारी कार्यालय, काठमाडौंमा विधिवत् दर्ता भई स्थापना भएको गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारी संस्थाले बागलुङको गल्कोटबाट काठमाडौं आई विभिन्न पेसा तथा व्यवसायमा संलग्न सदस्यहरूको सानो–सानो पुँजीलाई बचतका माध्यमबाट एकीकृत गरी आर्थिक तथा सामाजिक स्तर उकास्ने उद्देश्य राखेको छ।
‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने सहकारीको आदर्श सिद्धान्तलाई आत्मसात् गर्दै स्थापना भएको संस्थाले सदस्यहरूलाई लक्षित गरी साधारण बचत, क्रमिक बचत, बालशिक्षा बचत, नारी बचत, गल्कोट बचत, अनिवार्य बचत, रेमिट बचत तथा मुद्दती बचतलगायतका बचत कार्यक्रम सञ्चालन गर्दै आएको छ।
त्यसैगरी संस्थाले सदस्यहरूको आवश्यकता र क्षमताअनुसार विभिन्न शीर्षकमा कर्जा प्रवाह गर्नुका साथै रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।
गल्कोट र घुम्टेको ऐतिहासिक, धार्मिक तथा प्राकृतिक महत्वलाई समेटेर नामकरण गरिएको संस्थाले काठमाडौंमा रहेका गल्कोटवासीलाई एउटै संस्थागत संरचनामा आबद्ध गर्दै आर्थिक सहकार्य, आपसी सहयोग र सामूहिक विकासको भावना प्रवर्द्धन गर्दै आएको छ।
सभाको समापन गर्दै अध्यक्ष प्रशान्त ढकालले सदस्यहरूको विश्वास, साथ र सहयोगकै कारण संस्था निरन्तर अगाडि बढिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संस्थालाई थप व्यवस्थित, पारदर्शी र सबल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाको प्रगति र दिगोपनका लागि सम्पूर्ण शेयर सदस्यको निरन्तर साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले साधारण सभामा उपस्थित सबै सदस्यप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।










