विराटनगर । श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक धरानमा सुरु भए पनि पूर्वमन्त्री सुदन किराती समूहलाई प्रवेश निषेध गरिएको छ।
पार्टी एकता भएको चार महिनापछि बसेको बैठकमा किराती समूहका १८ नेता सहभागी हुनुपर्ने भए पनि उनीहरूलाई बोलाइएको छैन। बैठकस्थल पुगेका केही नेताहरूलाई ‘भोलि छुट्टै बैठक बस्ने’ भन्दै प्रवेश गर्न दिइएन।
यस घटनाले पार्टी एकतामै असर पर्ने अवस्था देखिएको किराती निकट नेताहरूले बताएका छन्। किरातीले धरानमै आफ्ना नेताहरूसँग छुट्टै रणनीतिक छलफल गरिरहेका छन्।
पार्टी अध्यक्ष हर्क साम्पाङ र किरातीबीच पछिल्लो समय कार्यशैली तथा पार्टीभित्रको निर्णय प्रक्रियालाई लिएर मतभेद बढेको बताइएको छ। साम्पाङले किरातीमाथि गुटबन्दी गरेको आरोप लगाउँदै पार्टीभित्र दुई खेमा बनाए निष्कासन गर्ने चेतावनीसमेत दिएका थिए।
प्रकाशित मिति : २०८३ भाद्र १६ गते मङ्गलवार





