काठमाडौं । नेपाली फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा ४ करोड रुपैयाँभन्दा बढी कमाइ गर्दै सफल प्रदर्शन जारी राखेको छ।
परालको आगो ले प्रदर्शनको छोटो अवधिमै उल्लेखनीय व्यापार गर्दै ४ करोडको आँकडा पार गरेको हो। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेपाः बक्सअफिस विवरणअनुसार फिल्मले गत शनिबारसम्म कुल ४ करोड २५ हजार ४६६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
वैशाख ११ गतेदेखि प्रदर्शनमा आएको फिल्मले वैशाख २६ गतेसम्म १ लाख ४३ हजार ७२४ वटा टिकट बिक्री गरेको बोर्डको तथ्यांकमा उल्लेख छ।
त्यस्तै, राम नाम सत्य ले पनि सशक्त व्यापार गर्दै ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ कमाउन सफल भएको छ। चैत २७ गतेदेखि प्रदर्शनमा आएको यस फिल्मले गत शनिबारसम्म १ लाख २१ हजार ४०५ वटा टिकट बिक्री गरेको विवरणमा उल्लेख छ।
निर्देशक लक्ष्मण सुनार को निर्देशनमा बनेको ‘परालको आगो’मा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत र सिर्जना अधिकारी लगायत कलाकारको मुख्य भूमिका रहेको छ।
यस्तै, माइकल चन्द निर्देशित ‘राम नाम सत्य’मा विराज भट्ट, सुनिल थापा, सुशील श्रेष्ठ, दिव्या रायमाझी र सुपुष्पा भट्ट लगायत कलाकारहरूको अभिनय रहेको छ।





