काठमाडौं । नेपाली चलचित्र ‘चिरञ्जीवी भव’को औपचारिक शुभमुहूर्त सम्पन्न भएको छ। निर्माण टिमले आइतबार स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभारम्भ गरेको हो।
निर्देशक तथा प्रमुख कलाकारहरूको उपस्थितिमा ललितपुरस्थित बंगलामुखी मन्दिरमा विशेष पूजा आयोजना गरिएको थियो। शुभमुहूर्तका क्रममा चलचित्रको पहिलो सट वरिष्ठ कलाकार हरिवंश आचार्यले दिएका छन्। उनको पहिलो दृश्यले नै चलचित्रको शीर्षक ‘चिरञ्जीवी भव’ किन राखिएको हो भन्ने संकेत दिने निर्माण पक्षले जनाएको छ।
शुभमुहूर्त कार्यक्रममा हरिवंश आचार्यसँगै कलाकार आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायतको उपस्थिति रहेको थियो।
जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन आगामी जेठ १५ गतेदेखि सुरु हुनेछ। ४५ दिनको छायांकन तालिका तय गरिएको निर्माण टिमले जनाएको छ।
चलचित्रको सुटिङ धनकुटा, सुनसरी र काठमाडौंमा गरिनेछ। पारिवारिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित यस चलचित्र आगामी माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारी गरिएको छ।





