बकैयामा आजदेखि पालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु



हेटौंडा । पुर्वी मकवानपुर बकैया गाउँपालिका–७ घमनटोलमा प्रथम गाउँपालिका स्तरीय डबल ‘A’ साइड ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु भएको छ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित हात्तीखोला युवा क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। कार्यक्रम साँझ ६ बजेबाट सुरु हुने छ।
प्रतियोगितामा १७ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडीहरूबीच प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्दै खेलकुदप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ।
टिम दर्ता शुल्क रु. ६०० तोकिएको छ भने सहभागी खेलाडीहरूको लागि खानाको समेत व्यवस्था गरिएको छ।
प्रतियोगितामा विजेता टोलीले रु. ७,००० र उपविजेताले रु. ३,५०० नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
कार्यक्रमको समन्वय बकैया–७ नं वडा कार्यालयले गरेको छ भने व्यवस्थापन घमनटोल स्पोर्ट्स क्लबले गरिरहेको छ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार