काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा एमालेका अध्यक्ष केपी ओलीलाई गफाडीको बिम्बको संज्ञा दिएका छन् । असोज ५ गतेबाट काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा नेपालले पेश गरेको प्रतिवेदनमा भनिएको छ, ‘केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।’
अध्यक्ष नेपालले प्रतिवेदनमा एमाले अध्यक्ष ओली विचार र विधिमा नचलेकाले विद्रोह गर्नुपरेको भनेका छन् । एमालेको स्थायी कमिटी, पोलिटव्यूरो र केन्द्रीय कमिटीमा अल्पमतमा परेपछि पार्टीको बैठक नै नराख्ने, बैठक राखे पनि आफू अनुकूल निर्णय नहुने देखेपछि बैठक स्थगित गर्ने, बैठकस्थलमै नबस्ने जस्तो गैरराजनीतिक काम गरेको प्रतिवेदनमा नेपालले उल्लेख गरेका छन् ।
‘कम्युनिष्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाइयो । व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो । व्यक्ति पूजाको संस्कृति मौलाउँदै गयो । पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगियो,’ नेपालले भनेका छन् । नेपालले केन्द्रीय कमिटी बैठकमा पेश गरेको प्रतिवेदनमा मुलुकमा अहिले दुई प्रकारका राजनीतिक धार विद्यमान रहेको उल्लेख गरेका छन् ।
‘अलोकतान्त्रिक, असहिष्णु र स्वेच्छाचारी प्रवृत्ति बोकेको दक्षिणपन्थी, विदेशपरस्त तथा राजतन्त्रपरस्त शंक्तिसँग दक्षिणपन्थी गठबन्धन गर्ने सोच जसको मुख्य प्रतिनिधित्व केपी ओली गुटले गरिरहेको छ,’ नेपालले प्रतिवेदनमा भनेका छन्, ‘वाम लोकतान्त्रिक समीकरण, जसको प्रतिनिधित्व नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०, नेपाली कांग्रेस, जनता समाजवादी दल र राष्ट्रिय जनमोर्चाले गरिरहेका छन् ।’
यस्ता छन् माधव नेपालले केपी ओलीलाई लगाएका दर्जन आरोप
१. पार्टीका क्रान्तिकारी नीति, सिद्धान्त र विचार सबै परित्याग गरियो । पार्टीलाई विधि र पद्धति अनुसार होइन स्वेच्छाचारी ढंगले चलाइयो । पार्टीको सांगठनिक गतिविधि अवरुद्ध पारियो । कैयन् कमिटीहरू निर्माण नै गरिएन । कमिटीका बैठकहरू नियमित रूपमा सञ्चालन गरिएन । पार्टी गतिहीन र शिथिल बन्न पुग्यो । अध्यक्ष स्वयंबाट पार्टीमा गुटबन्दी गरियो ।
२. कम्युनिष्ट पार्टी नीति प्रधान हुनुपर्नेमा नेता प्रधान बनाइयो । व्यक्तिवादी अहंकारवाद हावी हुँदै गयो । व्यक्ति पूजाको संस्कृति मौलाउँदै गयो । पार्टीलाई दक्षिणपन्थी अवसरवादको दलदलमा धकेल्दै लगियो ।
३. नेकपाका दुई अध्यक्षमध्ये एक केपी ओली फेरि पनि पार्टीले लिएका विचार र विधिमा चलेनन् । उनले पार्टीलाई नीति र विधिअनुसार चलाउन चाहेनन् । उनले त्यहाँ पनि गुटबन्दी गर्ने, स्वेच्छाचारी एवं व्यक्तिवादी ढंगले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्य नै गरिरहे ।
४. केपी ओली नेतृत्वको सरकारले प्रस्तुत गरेका नीति तथा कार्यक्रमहरूमा एमालेद्वारा अघि सारिएका कुनै पनि नीति तथा कार्यक्रमलाई समावेश गरिएन । त्यसविपरीत राष्ट्रिय पुँजीलाई हतोत्साहित गर्ने र विदेशी दलाल पुँजीलाई प्रोत्साहित गर्ने गरी कृषिमा वैदेशिक लगानीको विधेयक अगाडि सारियो । साथै जनताका सांस्कृतिक मूल्यमान्यता विपरीत गुठी विधेयक ल्याइयो ।
५. पार्टी नीति र जनअपेक्षाअनुसार सरकार सञ्चालन गर्न बारम्बार आग्रह गर्दा पनि नसुनेर अलोकतान्त्रिक, गैरजिम्मेवार र सर्वसत्तावादी सोचबाट चल्ने काम भइरह्यो ।
६. विदेशी राष्ट्रको गुप्तचर संस्थाका प्रमुखसँग माध्यरातमा गुप्त मन्त्रणा गरी राष्ट्रियतामा समेत आँच पुग्ने गरी अलोकतान्त्रिक गतिविधि सञ्चालन गरियो ।
७. केपी ओली पर्टीमा आफ्नो एकल वर्चस्व कायम गर्नका निम्ति एकता होइन विभाजन नै चाहन्थे । त्यसैले उनले पार्टी एकता जोगाउनका निम्ति कुनै पनि पहल गरेनन् ।
८. हामीले पार्टी एकता कायम राख्नका निम्ति उपरोक्त बमोजिम हुनुपर्छ भन्ने अडान राख्यौं । तर, केपी ओलीको दक्षिणपन्थी एवं विसर्जनवादी सोच र सिंगो पार्टी कब्जा गरी आफ्नो एकलौटी वर्चस्व कायम गर्ने चाहनाले गर्दा नेकपा ९एमाले० को एकता जोगाउने होइन त्यसलाई विघटनको दिशामा नै लैजाने काम भयो ।
९. २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले) को नवौँ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी नेकपा ९एमाले० लाई विभाजनको दिशामा धकेलिदिए । वास्तवमा केपी ओली गुटको त्यही निर्णयबाट नेकपा (एमाले) को विभाजन शुरू भएको हो ।
१०. केपी ओलीले यसरी गुटबन्दीपूर्ण, निरंकुश, स्वेच्छाचारी र व्यक्तिवादी ढंगले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको हुनाले तिनलाई सच्याएर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुर्याउनका लागि हामीले निकै नै प्रयत्न गर्यौँ, तर केपी ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उनी कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डकारी अडानमै रहिरहे । पार्टीमा गम्भीर संकट उत्पन्न भयो ।
११. केपी ओली पक्षले २०७८ असार २७ गते राति १० बुँदे सहमति गर्नुको मूल ध्येय २८ गतेलाई पेशी तोकिएको अदालतमा विचाराधीन प्रतिनिधि सभाको विघटनसम्बन्धी मुद्दालाई प्रभावित गर्नु थियो । वार्ता त फगत नाटक मात्र थियो, अल्मल्याउने र फसाउने चाल मात्र थियो ।
१२. दुई पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बन्न पुगेका केपी ओलीको दक्षिणपन्थी चिन्तन, सत्ता लिप्सा र लोकतन्त्र विरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी, अहंकारी र दम्भी स्वभावले गर्दा कसैसँग मिल्न नसकी मुलुकको राजनीतिक स्थिरता नै खल्बलियो ।





