मकवानपुरमा एमालेलाई झट्का : १७ वर्षपछि आशिष अस्लामीले गरे पार्टी परित्याग



मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग करिब १७ वर्षदेखि आबद्ध मकवानपुर क्षेत्र नं. २ का पूर्वसांसद महेश कुमार बर्तौलाका स्वकीयसचिव तथा नेकपा एमालेका युवा नेता आशिष अस्लामीले पार्टी परि*त्याग गरेको घोषणा गरेका छन्।

भीमफेदी गाउँपालिका–६ निवासी अस्लामीले एमाले जिल्ला कमिटी मकवानपुरलाई सम्बोधन गर्दै पत्रमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। उनले २०६६ सालदेखि अनेरास्ववियु हुँदै एमालेका विभिन्न गतिविधि, अभियान र संगठनात्मक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्।

राजीनामा पत्रमा उनले पार्टीमार्फत प्राप्त अनुभव, सहकार्य र सिकाइप्रति धन्यवाद व्यक्त गर्दै व्यक्तिगत सोच, प्राथमिकता तथा भावी कार्यदिशालाई मध्यनजर गरी पार्टीसँगको सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको बताएका छन्।

साथै समाजमा रहेका असमानता र विकृतिहरू न्यूनीकरण गर्दै सुशासन र समृद्धिको अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
अस्लामीले अबदेखि आफू पार्टीको साधारण सदस्यसमेत नरहने र सामाजिक जीवनमा विभिन्न संघसंस्था तथा विचार समूहसँग समन्वय गर्दै अगाडि बढ्ने उल्लेख गरेका छन्।

उनको राजीनामासँगै मकवानपुरको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १६ गते शनिवार