ललितपुर – स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईँको पद औपचारिक रूपमा रिक्त भएको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बजगाईँले दल त्याग गरी अर्को राजनीतिक दलमा प्रवेश गरेकाले उनको पद स्वतः रिक्त भएको जनाएको हो।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ अनुसार निर्वाचित जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेमा पद स्वतः रिक्त हुने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार आयोगले बजगाईँको पद रिक्त भएको जानकारी सार्वजनिक गरेको हो।
बजगाईँ २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट ललितपुरको बागमती गाउँपालिका–७ बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। तर प्रतिनिधिसभा निर्वाचनका क्रममा उनले एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका थिए। त्यसयता उनी रास्वपाका गतिविधिमा सक्रिय रहँदै आएका थिए।
निर्वाचन अभियानकै क्रममा उनले रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनको पक्षमा खुलेर प्रचारप्रसार तथा मत माग्ने काम गरेका थिए। दल परिवर्तन गरी अर्को दलको पक्षमा सक्रिय भूमिका खेलेपछि नेकपा एमाले ललितपुर जिल्ला कमिटीले उनलाई यसअघि नै कारबाही गरिसकेको थियो।
निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनामा बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईँसहित देशका विभिन्न स्थानीय तहका आठ जना जनप्रतिनिधिको पद रिक्त भएको उल्लेख छ। उनीहरू सबैले आफू निर्वाचित भएको दल त्याग गरी अन्य दलमा प्रवेश गरेको आयोगको निष्कर्ष छ।
पद रिक्त भएसँगै बागमती गाउँपालिका–७ को वडाध्यक्ष पदमा अब कानुनी व्यवस्थाअनुसार आगामी प्रक्रिया अघि बढ्नेछ। बजगाईँको पद गुमेसँगै दल परिवर्तन गर्ने निर्वाचित जनप्रतिनिधिमाथि संविधान र कानुनले गरेको व्यवस्थाको पुनः कार्यान्वयन भएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।






