सरकारविरुद्ध शिक्षक महासंघ अध्यक्ष सुवेदीको आक्रोश : ‘अब ठूलो आन्दोलन हुन्छ’



काठमाडौं – नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारले शिक्षक र विद्यालय कर्मचारीका माग पूरा नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

उनले सरकारले विगतमा जस्ता आन्दोलन भए पनि त्यसभन्दा ठूलो आन्दोलन गर्ने तयारी भइरहेको बताए। बाल विकास शिक्षक, विद्यालय कर्मचारीको तलब वृद्धि नभएको, शिक्षा क्षेत्रमा पर्याप्त बजेट नभएको र गत वर्ष सरकार र महासंघबीच भएको सहमति कार्यान्वयन नभएको उनले बताए।

अध्यक्ष सुवेदीले सरकारले १०० दिनमा केही नगरेको भन्दै असार १९ गतेपछि ठूलो आन्दोलन गर्ने चेतावनी दिए। उनले भने, “हामीले पहिले पनि आन्दोलन गरेका छौं। यसपटकको आन्दोलन ठूलो हुनेछ।”

सुवेदीले सरकारले शीघ्र अग्रगामी शिक्षा ऐन ल्याउनुपर्ने बताए। उनले भने, “सरकारले विवेक प्रयोग गरेर छिट्टै ऐन ल्याउनुपर्छ।”

उनले आन्दोलनका लागि शिक्षक र कर्मचारीलाई तयार रहन आग्रह गर्दै भने, “यदि सरकारले माग न सुनेको खण्डमा हामी सबै मिलेर आन्दोलनमा जानेछौं।”

अध्यक्ष सुवेदीले शिक्षक र कर्मचारीका हकहितका लागि सबै संगठन एकमत रहेको बताए।

प्रकाशित मिति : २०८३ जेष्ठ २५ गते सोमवार