विश्व वातावरण दिवसमा हात्तीखोलामा वृक्षारोपण, एथलेटिक्स खेलाडी सन्तराम माझी सम्मानित



मकवानपुर, बकैया । विश्व वातावरण दिवसको अवसरमा पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ स्थित हात्तीखोला पुल परिसर सडक किनारमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। हात्तीखोला युवा क्लबको आयोजनामा शुक्रबार बिहान आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक संस्थाका प्रतिनिधि, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन वातावरण संरक्षणसम्बन्धी सन्देश समेटिएको व्यानर वाचन गर्दै बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले गरेका थिए। उद्घाटनपछि उपाध्यक्ष खत्री र स्थानीय बालबालिकाहरूले संयुक्त रूपमा बिरुवा रोपेर वृक्षारोपण अभियानको औपचारिक शुभारम्भ गरेका थिए।

आयोजकका अनुसार कार्यक्रममा करिब ४० वटा अशोक र सिरिस प्रजातिका बिरुवा सडक किनारमा रोपिएको छ। वृक्षारोपण अभियानमा हात्तीचरण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पोषबहादुर घिमिरे, हात्तीखोला दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष यङ्कप्रसाद फुयाल, हात्तीखोला टोल विकास समितिका अध्यक्ष विकास खत्री तथा हात्तीखोला युवा क्लबका अध्यक्ष जिकेश सापकोटालगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी कार्यक्रममा स्थानीय युवा, बालबालिका, ज्येष्ठ नागरिक, हात्तीसुँड प्रहरी चौकीका प्रहरी कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमकै अवसरमा हात्तीखोला युवा क्लबले बकैया गाउँपालिकाका प्रतिभाशाली राष्ट्रिय एथलेटिक्स खेलाडी सन्तराम माझीलाई नगद एक हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको छ। खेलकुद क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको क्लबले जनाएको छ।

क्लबका अध्यक्ष जिकेश सापकोटाका अनुसार हात्तीखोला युवा क्लबले विगतदेखि नै खेलकुद, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न रचनात्मक र समुदायमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरी शैक्षिक सहयोगसमेत उपलब्ध गराउँदै आएको उनले बताए।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणका लागि यस्ता वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ २२ गते शुक्रवार