काठमाडौं । बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै उद्धार प्रयास तीव्र बनाएको छ। अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका ६ सदस्यीय चिनियाँ विज्ञ टोलीलाई घटनास्थलमा परिचालन गरिएको हो।
चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्र फसेकाहरूको उद्धारका लागि आवश्यक प्राविधिक अध्ययन तथा अनुगमन गर्नेछ। संयुक्त टोलीले सुरुङभित्रको वर्तमान अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्राविधिक ‘रेकी’ गर्नेछ। प्रारम्भिक अध्ययनबाट उद्धार सम्भव हुने देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गरिने तयारी छ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञहरूको संयुक्त प्रयासमा फसेका श्रमिकलाई सकुशल बाहिर निकाल्न उद्धार कार्यलाई निरन्तरता दिइएको छ।






