हेटौंडा । बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा नेकपा (एमाले) ले अन्ततः संसदीय दलका नेता जगन्नाथ थपलियालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ। मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच लामो छलफलपछि थपलियाको नाममा सहमति जुटेको हो।
शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित निवासमा भएको बैठकमा पार्टीका शीर्ष नेताहरूले छलफल गरी थपलियालाई अगाडि बढाउने निष्कर्ष निकालेका हुन्। मुख्यमन्त्रीका अर्का दाबेदार भक्तपुरका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री किरण थापा मगर पनि बैठकमा सहभागी थिए।
केन्द्रमा एमाले र नेकपा बीच भएको सत्ता साझेदारी सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने भएपछि मुख्यमन्त्री चयनलाई लिएर पार्टीभित्र प्रतिस्पर्धा चर्किएको थियो। अन्ततः नेतृत्वले थपलियाको पक्षमा निर्णय गर्दै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
यद्यपि प्रदेशसभाको वर्तमान अंकगणितअनुसार एमाले र नेकपाको संयुक्त संख्या ५१ मात्रै भएकाले बहुमतका लागि थप दुई सांसद आवश्यक पर्ने अवस्था छ। त्यसका लागि राप्रपालगायत अन्य दलसँग सहकार्यबारे छलफल भइरहेको एमाले नेताहरूले बताएका छन्।






