हेटौंडा । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको सत्ता साझेदारी सहमतिसँगै बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निश्चित भएको छ। यससँगै एमालेभित्र मुख्यमन्त्रीको दौड पनि तीव्र बनेको छ।
मुख्यमन्त्रीका प्रमुख दाबेदारका रूपमा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया र निवर्तमान स्वास्थ्यमन्त्री किरण थापा अघि देखिएका छन्। दुवैले पार्टी नेतृत्वसँग आन्तरिक लबिङ बढाएका छन् भने अन्तिम निर्णय एमाले नेतृत्वले गर्नेछ।
यद्यपि, संसदीय दलको नेता भएकाले थपलियाको दाबी स्वाभाविक मानिएको छ। थापालाई मुख्यमन्त्री बनाउनुअघि संसदीय दलको नेतृत्वको विषय टुंग्याउनुपर्ने अवस्था छ।
बागमती प्रदेशसभामा एमालेसँग २५ र नेकपासँग २६ गरी ५१ सांसद छन्। सरकार गठनका लागि आवश्यक ५३ मत पुर्याउन राप्रपा वा अन्य साना दलको समर्थन अनिवार्य देखिएको छ। राप्रपाले आवश्यक परे सरकार गठनमा सहयोग गर्न सक्ने संकेत दिएको छ।
कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेपछि बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने तयारी भइरहेको छ।





