काठमाडौं । शिक्षासेवी तथा साहित्यकार हेमचन्द्र पोखरेलका प्रकाशित र अप्रकाशित साहित्यिक सिर्जनालाई समेटेर तयार पारिएको पुस्तक ‘सिर्जनाबागमा हेमचन्द्र पोखरेल’ सार्वजनिक गरिएको छ ।
धनकुटेली समागम, काठमाडौंको आयोजनामा शनिबार मंसिर ५ गते काठमाडौंको कान्तिपथस्थित यल्लो पेगोडा होटलमा आयोजित विशेष समारोहबीच उक्त कृति सार्वजनिक गरिएको हो ।
धीरकुमार श्रेष्ठको सम्पादन तथा भारती गौतमको अतिथि सम्पादनमा तयार भएको पुस्तक सार्वजनिक समारोहको अध्यक्षता प्राध्यापक नारायण जोशीले गरेका थिए भने अग्रज साहित्यकार रमेश खकुरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
पोखरेलको शैक्षिक र साहित्यिक योगदानको चर्चा
कार्यक्रममा प्रमुख अतिथि रमेश खकुरेलले हेमचन्द्र पोखरेलसँगको व्यक्तिगत सम्बन्ध स्मरण गर्दै शिक्षा, साहित्य र सामाजिक क्षेत्रमा उनले पुर्याएको योगदानको चर्चा गरे । पोखरेलको व्यक्तित्व र सिर्जनाले नेपाली साहित्य तथा शिक्षा क्षेत्रमा विशिष्ट स्थान ओगटेको उनको भनाइ थियो ।
कार्यक्रमका अध्यक्ष प्रा. नारायण जोशीले पोखरेलसँगको ३५ वर्ष लामो सहकार्य र आत्मीय सम्बन्धका स्मरण सुनाउँदै उनका प्रकाशित तथा अप्रकाशित सिर्जनालाई संकलन गरी पुस्तकका रूपमा अभिलेखीकरण गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए । उनले कृति तयार पार्न योगदान गर्ने सम्पादक धीरकुमार श्रेष्ठ र अतिथि सम्पादक भारती गौतमप्रति आभार व्यक्त गरे ।
कृतिका सम्पादक धीरकुमार श्रेष्ठले अक्षरका माध्यमबाट आफू हेमचन्द्र पोखरेलसँग जोडिएको उल्लेख गर्दै धनकुटामा रहेर शिक्षा र साहित्यको क्षेत्रमा पोखरेलले पुर्याएको योगदान अतुलनीय रहेको बताए । उनको योगदानबिना धनकुटाको शैक्षिक तथा साहित्यिक इतिहास पूर्ण हुन नसक्ने धारणा पनि उनले राखे ।

त्यस्तै, अतिथि सम्पादक भारती गौतमले पुस्तक र कार्यक्रममा सहभागी स्रष्टाहरूका माध्यमबाट आफ्ना पिता हेमचन्द्र पोखरेललाई पुनः भेटेको अनुभूति भएको बताइन् । उनले पुस्तक प्रकाशनमा सहयोग गर्ने सम्पादक श्रेष्ठ तथा आयोजक धनकुटेली समागमप्रति धन्यवाद व्यक्त गरिन्।
संस्कृत साहित्यदेखि सिर्जनाको महत्वसम्म विमर्श
कार्यक्रममा प्रा.डा. हेमचन्द्र नेपालले पुस्तकको सम्पादन प्रक्रियाबारे जानकारी गराएका थिए । प्रा.डा. जीवन अधिकारीले पोखरेलका संस्कृत रचनाबारे चर्चा गरेका थिए भने प्रा.डा. गोविन्दराज भट्टराईले सम्पादित कृतिको साहित्यिक महत्त्वमाथि प्रकाश पारेका थिए ।
यसैगरी, प्रा.डा. माधवप्रसाद पोखरेलले हेमचन्द्र पोखरेलसँग जोडिएका पुराना संस्मरण सुनाएका थिए । रेडियो नेपालका पूर्वनिर्देशक तथा धार्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटाले पोखरेलसँगका भेटघाट र सहकार्यका अनुभव साझा गर्दै उनका संस्कृत रचनासमेत वाचन गरेका थिए ।
पोखरेलको पेन्सिल चित्र उपहार प्रदान
समारोहमा उमेशचन्द्र अधिकारीले तयार पारेको हेमचन्द्र पोखरेलको पेन्सिल चित्र धनकुटेली समागमका अध्यक्ष प्रा. नारायण जोशीले कार्यक्रमकी प्रायोजक तथा अतिथि सम्पादक भारती गौतमलाई उपहारस्वरूप प्रदान गरेका थिए ।
कार्यक्रममा पोखरेलको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो । त्यसपछि पुस्तक सार्वजनिक, अतिथिहरूको मन्तव्य तथा सामूहिक तस्बिर खिच्ने कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको सञ्चालन प्रा.डा. विनोद पोखरेलले गरेका थिए भने धनकुटेली समागमका संयोजक शशिशेखर श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । समारोहको समापन अध्यक्ष प्रा. नारायण जोशीले धन्यवाद मन्तव्यसहित गरेका थिए । सहभागी अतिथिहरूलाई जलपान तथा पुस्तक वितरणसमेत गरिएको थियो ।
हेमचन्द्र पोखरेलका जीवन, साहित्यिक सिर्जना र योगदानलाई एकै कृतिमा समेटिएको यस पुस्तकले उनको बौद्धिक तथा साहित्यिक विरासतको संरक्षण र अभिलेखीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । विशेषगरी धनकुटाको शैक्षिक तथा साहित्यिक इतिहासको अध्ययन र अनुसन्धान गर्न चाहने पाठकका लागि यो कृति उपयोगी हुने विश्वास आयोजकले व्यक्त गरेका छन् ।











