डोङफेङ नामीको ‘भिगो ई–२’ नेपाली बजारमा, मूल्य ३५ लाख ९९ हजार



काठमाडौं । डोङफेङ नामीले आफ्नो नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई–२’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू मोटर्सले बुधबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय एसयूभी सार्वजनिक गरेको हो।

कम्पनीका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले नामी भिगो ई–२ लाई कम्प्याक्ट कारभन्दा माथिल्लो श्रेणीमा राखिएको पारिवारिक प्रयोजनका लागि उपयुक्त पूर्ण आकारको एसयूभीका रूपमा नेपाली बजारमा ल्याइएको बताए।

कम्पनीले नयाँ एसयूभीको प्रारम्भिक विशेष मूल्य ३५ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ। उक्त मूल्यमा आगामी भदौ ९ गतेदेखि सुरु हुने नाडा अटो शोसम्म गाडी बुकिङ गर्न सकिने एमएडब्लू मोटर्सले जनाएको छ।

उद्घाटन कार्यक्रममा अग्रवालले सरकारले पछिल्लो बजेटमार्फत ड्युटी संरचनामा गरेको परिवर्तनबाट प्राप्त लाभ ग्राहकलाई हस्तान्तरण गर्ने उद्देश्यले विशेष मूल्य निर्धारण गरिएको बताए।

उनका अनुसार ड्युटी संरचनामा भएको परिवर्तनबाट प्राप्त मूल्य अन्तर कम्पनीको नाफामा राख्ने वा ग्राहकलाई दिने विषयमा आन्तरिक छलफलपछि ग्राहकलाई प्राथमिकता दिने निर्णय गरिएको हो।
एमएडब्लू मोटर्सका अनुसार नामी भिगो ई–२ नेपाली बजारमा किफायती मूल्यमा पारिवारिक प्रयोगका लागि विद्युतीय एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरिएको छ। नयाँ मोडलको आगमनसँगै डोङफेङ नामीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार