१८औँ नाडा अटो शो : मेड इन नेपालदेखि एआई र रोबोटिक्ससम्म



काठमाडौँ । आगामी भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यसपटकको प्रदर्शनीमा स्वदेशी उत्पादन, विद्युतीय सवारी, एआई तथा रोबोटिक्स प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ।

नाडाले स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण जयन्ती मनाइरहेको अवसरमा आयोजना हुन लागेको अटो शोमा विगत पाँच दशकको अटोमोबाइल यात्रा, वर्तमान अवस्था र भविष्यको मोबिलिटीलाई एउटै मञ्चमा प्रस्तुत गरिनेछ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको अटो शो परम्परागत गाडी मेलाभन्दा प्रविधि र स्वदेशी उत्पादनको संगमका रूपमा विकास गरिँदैछ।

‘मेड इन नेपाल’ विशेष प्याभिलियन
‘उद्योगदेखि रोजगारसम्म’ भन्ने नाराका साथ आयोजना हुने प्रदर्शनीमा पहिलोपटक ‘मेड इन नेपाल एन्ड मेड फर नेपाल’ नामक विशेष प्याभिलियन निर्माण गरिँदैछ। यहाँ नेपालमै उत्पादन तथा एसेम्बल भएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र अटो स्पेयर पार्ट्स प्रदर्शन गरिनेछन्।

स्वदेशी उद्योग विस्तारसँगै रोजगारी सिर्जना र युवालाई विदेशिनबाट रोक्न सकिने भएकाले यसपटक नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको आयोजकको भनाइ छ।

एआई र रोबोटिक्स मुख्य आकर्षण
१८औँ संस्करणमा जीआई ह्युमानोइड रोबोट र जीओ-२ क्वाड्राप रोबोट समेत प्रदर्शनमा राखिनेछन्। यी प्रविधिले भविष्यको अटोमोबाइल, एआई र अटोमेसनको सम्भावना प्रत्यक्ष देखाउनेछन्।

अटो शो पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरिएको छ। टिकट स्क्यान गरेपछि जीपीआरएसमार्फत आफूले हेर्न चाहेको स्टलसम्म पुग्न सकिनेछ। त्यस्तै, गाडीमा राखिएको क्युआर कोड स्क्यान गर्दा एआईको माध्यमबाट त्यसका विस्तृत जानकारी ह्वाट्सएपमा प्राप्त हुने व्यवस्था मिलाइएको छ।

ईभीको दबदबा
विश्वभर विद्युतीय सवारीसाधनतर्फ आकर्षण बढिरहेका बेला यसपटकको नाडा अटो शोमा पनि ईभी प्रमुख आकर्षण बन्नेछ। विभिन्न अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डले नयाँ विद्युतीय मोडेल सार्वजनिक गर्ने तयारी गरेका छन्।

यससँगै स्मार्ट मोबिलिटी, दिगो विकास र कनेक्टिभिटीबारे विज्ञहरूको सहभागितामा सिम्पोजियम पनि आयोजना हुनेछ।

२०० भन्दा बढी स्टल

करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। जसमा २३ प्यासेन्जर कार, १७ लाइट कमर्सियल भेहिकल, १३ दुईपाङ्ग्रे, १० वित्तीय संस्था र ७० स्पेयर पार्ट्सका स्टल रहनेछन्।

प्रदर्शनीलाई अपाङ्गतामैत्री बनाउँदै ह्विलचियर पहुँच र दृष्टिविहीनका लागि हेल्प डेस्कको व्यवस्था गरिएको छ।

पार्किङ व्यवस्थापनका लागि नेपाल पुलिस क्लब, नेसनल ट्रेडिङ, सुन्धारा, सञ्चय कोष भवन, पुरानो बसपार्क र आर्मीको एसटीसी बिल्डिङलगायत स्थानमा पार्किङको व्यवस्था गरिएको छ। पार्किङ स्थलबाट प्रदर्शनीस्थलसम्म निःशुल्क सटल बस सञ्चालन हुनेछ।

टिकटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्दा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको छ। एचपी लुब्रिकेन्ट्सको शीर्ष प्रायोजन रहेको ६ दिने अटो शोमा करिब २ लाख दर्शक आउने आयोजकको अपेक्षा छ।

नेपालको भन्सार राजस्वमा अटोमोबाइल क्षेत्रको योगदान करिब १८ प्रतिशत र समग्र राष्ट्रिय राजस्वमा २२ देखि २५ प्रतिशतसम्म रहेको बताइएको छ। यस क्षेत्रले प्रत्यक्ष रूपमा करिब १ लाख र अप्रत्यक्ष रूपमा १० लाख नागरिकलाई रोजगारी दिएको आयोजकको दाबी छ।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार