याडियाले सार्वजनिक गर्‍यो GS70, GT70 र GT80 स्कुटर, नेपाली बजारमा स्मार्ट ईभी प्रविधिको विस्तार



काठमाडौं, साउन २१ — नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नयाँ पुस्ताका GS70, GT70 र GT80 विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई लक्षित गर्दै यी तीन नयाँ मोडल ल्याएको जनाएको छ।

विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्ड याडियाले दिगो यातायात र स्मार्ट मोबिलिटीलाई प्राथमिकतामा राख्दै नेपाली बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नयाँ स्कुटर सार्वजनिक गरेको हो। कम्पनीका अनुसार GS70, GT70 र GT80 ले दैनिक सहरी यात्रादेखि लामो दूरीको यात्रा तथा प्रिमियम स्तरको राइडिङ अनुभव खोज्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्नेछन्।

दैनिक प्रयोगलाई लक्षित गरी तयार गरिएको GS70 मा २.१ किलोवाट-घण्टा क्षमताको LFP ब्याट्री र २.८ किलोवाट पीक मोटर जडान गरिएको छ। यसले एकपटक पूर्ण चार्ज गर्दा करिब १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ।

त्यसैगरी, लामो दूरीका यात्रुका लागि विकास गरिएको GT70 मा ५.७ किलोवाट-घण्टा क्षमताको डुअल LFP ब्याट्री प्रणाली (३.६ किलोवाट-घण्टा स्थायी र २.१ किलोवाट-घण्टा हटाउन मिल्ने ब्याट्री) तथा ३.७ किलोवाट पीक मोटर रहेको छ। यो मोडलले एकपटक चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ।

प्रिमियम सेग्मेन्टको GT80 मा ३.६ किलोवाट-घण्टा लिथियम ब्याट्री, ५ किलोवाट पीक मोटर, प्रतिघण्टा ८० किलोमिटरसम्मको अधिकतम गति तथा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको बताइएको छ।
यी तीनै मोडलमा ब्लुटुथ कनेक्टिभिटी, TFT स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी, पाँच जनासम्म प्रयोग गर्न सकिने फ्यामिली सेयरिङ सुविधा तथा स्मार्ट किलेस प्रणाली जस्ता आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ।

सुरक्षाका दृष्टिले ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता सुविधाले विभिन्न सडक अवस्थाहरूमा सुरक्षित, स्थिर र सहज राइडिङ अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ।

कम्पनीले नयाँ GS70, GT70 र GT80 मोडलमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराएको जनाएको छ।
नयाँ स्कुटरहरू हाल देशभर रहेका २० वटा आधिकारिक याडिया डिलरमार्फत बिक्रीका लागि उपलब्ध छन्। साथै, कम्पनीले आगामी दिनमा आफ्नो डिलर तथा सेवा सञ्जाललाई थप विस्तार गर्ने योजना रहेको पनि जनाएको छ।

लन्च अफरअन्तर्गत NAIMA Auto Show सम्पन्न नहुँदासम्म तीनै मोडल खरिद गर्ने ग्राहकलाई रु. १० हजारसम्मको विशेष छुट उपलब्ध गराइने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकले नजिकको आधिकारिक याडिया शोरुममा पुगेर टेस्ट राइड, फाइनान्सिङ सुविधा तथा अन्य जानकारी प्राप्त गर्न सक्नेछन्।

प्रकाशित मिति : २०८३ साउन २१ गते बिहिवार