काठमाडौं । पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

शनिबार महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान नै लिने गरी धम्की दिनु निन्दनीय भएको उल्लेख छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार विहानदेखि नेता बस्नेत र उनका सहयोगीले फोन र म्यासेजमार्फत धम्की दिएको शाक्यले बताएका छन् ।
धम्कीका घटनाले प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको भन्दै महासंघले आपत्ति जनाएको छ । यसअघि महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरी धम्कीको घटनाको निन्दा र भर्त्सना गरिसकेको छ ।
महासंघले प्रकाशित समाचारप्रति असहमति भए कानुनी बाटोबाट आफ्नो कुरा राख्न सकिने स्मरण गराउँदै धम्की र आतंक सिर्जना नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । साथै, पत्रकारलाई धम्की दिने व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।





