काठमाडौं । मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा अन्तर्गत एकाइ नम्बर ३ को साधारणसभा सम्पन्न भएको छ।
संस्थाले शनिबार, २०८३ असोज १७ गते काठमाडौंको पेप्सीकोलास्थित न्यू त्रिशक्ति पार्टी प्यालेसमा साधारणसभा आयोजना गरेको हो। बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन भएको सभाको मूल नारा ‘सदस्यको मनमा मिलीजुली, सदस्यको घरमा मिलीजुली’ रहेको थियो।
सभामा संस्थाका अध्यक्ष कृष्णबहादुर गौतमले अध्यक्षको वार्षिक प्रतिवेदन तथा सचिव ठाकुरप्रसाद पाठकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सभामा आर्थिक वर्ष २०८२/०८३ को संस्थागत प्रगति, आर्थिक अवस्था, लेखापरीक्षण प्रतिवेदन तथा आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटका विषयमा छलफल गरिएको थियो।
कोषाध्यक्षबाट आर्थिक वर्ष २०८२/०८३ को आर्थिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित बजेट प्रस्तुत गरिएको थियो। यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन तथा बाह्य लेखापरीक्षण प्रतिवेदन पनि सभामा प्रस्तुत गरिएको थियो।
सभाले आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक छनोट तथा पारिश्रमिक निर्धारण, संस्थाको विनियम तथा विभिन्न कार्यविधि र नियमावली संशोधन तथा पुनर्लेखनलगायतका विषयमा समेत छलफल गरेको छ। सहकारी एकीकरण, सदस्यका प्रश्न तथा सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि तथा मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि चयनलगायतका विषय पनि सभामा उठेका थिए।
२९ हजारभन्दा बढी सदस्य तथा बचतकर्ता आबद्ध
संस्थाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को अन्त्यसम्म २१ हजार २७३ जना खुद शेयर सदस्य र ७ हजार ७९७ जना खुद बालबचतकर्ता गरी कुल २९ हजार ७० जना बचतकर्ता आबद्ध रहेका छन्।
यस अवधिमा नियमित बचत नगर्ने तथा सम्पर्कमा नरहेका ३ हजार ४०२ जना शेयर सदस्य र ५७४ जना बालबचतकर्ताको सदस्यता खारेज तथा निष्क्रिय बनाउने प्रक्रिया अघि बढाइएको संस्थाले जनाएको छ।
राहत तथा सामाजिक सहयोगमा पनि योगदान
संस्थाले आर्थिक वर्ष २०८२/०८३ मा प्रभावित ३१४ जना सदस्य परिवारलाई कुल १६ लाख ३४ हजार २५० रुपैयाँ राहत वितरण गरेको जनाएको छ।
त्यस्तै, ७६ जना महिला सदस्यलाई ७९ हजार रुपैयाँ सुत्केरी सहयोग तथा ४३३ जना ज्येष्ठ शेयर सदस्यलाई १० लाख ३९ हजार २०० रुपैयाँ ज्येष्ठ नागरिक भत्ता वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ।
डिजिटल सेवा विस्तारमा जोड
संस्थाले सदस्यलाई सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउन डिजिटल कारोबार, मोबाइल बैंकिङ तथा क्यूआर कोड प्रणालीलाई थप प्रभावकारी बनाउँदै लैजाने नीति लिएको छ।
साथै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी व्यवस्थाअनुसार GoAML तथा राष्ट्र बैंकको FIU प्रणालीमा आबद्ध भई TTR रिपोर्टिङलाई समेत निरन्तरता दिइएको संस्थाले जनाएको छ।
संस्थाको जगेडा कोष ९ करोड रुपैयाँभन्दा बढी पुगेको जनाइएको छ। संस्थागत सुशासन र गुणस्तरीय सेवा प्रवाहका लागि ACCESS र CULEG का सूचकांकलाई आधार बनाएर संस्था सञ्चालन भइरहेको प्रतिवेदनमा उल्लेख छ।
सदस्यकेन्द्रित सेवामा प्राथमिकता
आर्थिक मन्दीको अवस्थामासमेत संस्थाले कुल पुँजी वृद्धि, विभिन्न स्थानमा रहेका सेवाकेन्द्रमार्फत नियमित सेवा प्रवाह, सदस्यको आवश्यकताअनुसार कर्जा प्रवाह तथा विस्तारित कार्यक्षेत्रमा नियमित बचत संकलनलाई प्राथमिकता दिएको जनाएको छ।
त्यस्तै, डिजिटल सेवा विस्तार, मोबाइल बैंकिङको प्रयोग बढाउने, सदस्यलाई बचत तथा ऋणसम्बन्धी सेवा कार्यालयबाटै उपलब्ध गराउने, शाखाबाहिरको कर्जा सुरक्षणलाई प्राथमिकता दिने तथा मनी ट्रान्सफर सेवामार्फत सदस्यलाई थप सुविधा दिने विषयलाई आगामी योजनामा समेटिएको छ।
१२० सूचकांकमार्फत सुशासनमा जोड
संस्थाले सहकारीसम्बन्धी प्रचलित कानुन, आन्तरिक कानुन, सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता र सदस्य, सञ्चालक समिति तथा कर्मचारीको आचारसंहितालाई आधार बनाएर संस्था सञ्चालन गर्दै आएको जनाएको छ।
प्रभावकारी सुशासन कायम गर्न १२० वटा सूचकांकको परिधिभित्र रहेर संस्था सञ्चालन गरिएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा उल्लेख छ।
सभामा अघिल्लो साधारणसभाबाट पारित निर्णयहरूको कार्यान्वयन अवस्थाको समेत समीक्षा गरिएको थियो। पारित भएका केही निर्णय कार्यान्वयन गर्न बाँकी रहे पनि सम्बन्धित नियमनकारी निकायमा आवश्यक विवरण समयमै पेस गरिएको र नीति तथा कार्यक्रमको आवधिक समीक्षा हुँदै आएको संस्थाले जनाएको छ।
३३ वर्षदेखि सहकारी अभियानमा
मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०५० साल भदौ ९ गते स्थापना भएको हो। सोही वर्षको मंसिर २ गते जिल्ला सहकारी कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा संस्था दर्ता भएको प्रतिवेदनमा उल्लेख छ।
हिमाली जिल्लाबाट सुरु भएको संस्थाले तीन दशकभन्दा बढी समयदेखि सहकारी क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ। संस्थालाई वर्तमान अवस्थामा पुर्याउन शेयर सदस्यहरूको महत्वपूर्ण योगदान रहेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सभामा प्रत्यक्ष उपस्थित हुन नसकेका सदस्यका लागि संस्थाको आधिकारिक वेबसाइट, फेसबुक तथा युट्युबमार्फत साधारणसभासम्बन्धी प्रतिवेदन अध्ययन तथा अवलोकन गर्ने व्यवस्था समेत गरिएको थियो।












