एकीकृत फ्रेण्डसिप सहकारीको एकाइ १ को साधारणसभा सम्पन्न



काठमाडौं । एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एकाइ १ अन्तर्गतको साधारणसभा २०८३ असोज १७ गते शनिबार भक्तपुरको लोकन्थलीस्थित दिव्येश्वरी पार्टी प्यालेसमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष भूमिराज खड्काको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका संस्थापक उपाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
साधारणसभामा संस्थाको समग्र प्रगति, आर्थिक अवस्था, संस्थागत गतिविधि तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सञ्चालक समितिको प्रतिवेदन तथा आगामी कार्ययोजनासम्बन्धी प्रतिवेदन संस्थाका सचिव केशवकुमार कार्कीले प्रस्तुत गरेका थिए।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाका व्यवसाय विभाग प्रमुख निर्मलकुमार कार्कीले प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनमाथि बन्द सत्रमा छलफल गर्दै संस्थाको भावी कार्यदिशा, वित्तीय अनुशासन, पारदर्शिता, सुशासन तथा सदस्यहरूको हित संरक्षणका विषयलाई प्राथमिकता दिइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि डी.बी. बस्नेतले संस्थाको स्थापनाकालदेखि हालसम्मको यात्रा, संस्थागत विकास तथा सहकारी अभियानमा सदस्यहरूको भूमिका र योगदानको महत्त्वबारे धारणा राखेका थिए। उनले सहकारी संस्थाको दिगो विकासका लागि सदस्यहरूको सक्रिय सहभागिता र संस्थाप्रतिको विश्वास महत्वपूर्ण हुने बताए।

सभापति भूमिराज खड्काले संस्थालाई दिगो रूपमा अघि बढाउँदै सदस्यहरूको विश्वास अभिवृद्धि गर्ने तथा सहकारीका मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात् गर्दै संस्थागत विकासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले साधारणसभामा उपस्थित शेयर सदस्य, अतिथि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका थिए।

‘एकता, विश्वास र सहकार्य समृद्धिको आधार’ भन्ने मूल भावका साथ सम्पन्न साधारणसभामा संस्थाका सञ्चालक समिति सदस्य एवं काठमाडौं सेवा केन्द्र समिति संयोजक देवबहादुर श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रम संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले सञ्चालन गरेका थिए।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार