थकाली सेवा समिति काठमाडौंको ३६औँ वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं । थकाली सेवा समिति नेपाल, क्षेत्रीय समिति काठमाडौंको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। समितिको ५२औँ स्थापना दिवसको अवसर पारेर २०८३ साल असोज ११ गते आइतबार आयोजित साधारणसभामा संस्थाको वार्षिक प्रगति, सामाजिक तथा सांस्कृतिक गतिविधि र आगामी योजनाबारे जानकारी गराइएको छ।

साधारणसभामा समितिका सचिव ई. विश्व किरण गौचनले कार्यसमितिको तर्फबाट वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा थकाली सेवा समिति नेपालकी अध्यक्ष शान्ति तुलाचन, पूर्व उपप्रधानमन्त्री तथा पूर्व प्रदेश प्रमुख अमिक शेरचनसहित थकाली समुदायका विभिन्न संघसंस्थाका पदाधिकारी, सल्लाहकार, सदस्य तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिवेदनअनुसार २०८१ साल साउन २६ गते सम्पन्न १६औँ अधिवेशनबाट सर्वसम्मत चयन भएको वर्तमान कार्यसमितिको यो दोस्रो वार्षिक साधारणसभा हो। अध्यक्ष कृष्ण गौचनको नेतृत्वमा रहेको कार्यसमितिले आफ्नो कार्यकालको दोस्रो वर्ष पूरा गर्दै तेस्रो वर्षमा प्रवेश गरेको जनाएको छ।

२० वटा बैठक सम्पन्न

कार्यसमितिले समीक्षा अवधिमा १३ वटा नियमित बैठक, १ वटा आकस्मिक तथा विशेष बैठक र ६ वटा पदाधिकारी बैठक गरी जम्मा २० वटा बैठक सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ। समितिले काठमाडौंमा बसोबास गर्ने थकाली समुदायलाई संगठित र एकताबद्ध बनाउँदै पारदर्शिता, इमानदारी तथा कर्तव्यनिष्ठालाई प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ।

नवनिर्मित भवनको निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त

समितिको महत्वपूर्ण उपलब्धिका रूपमा नवनिर्मित भवनको निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त भएको जनाइएको छ। काठमाडौं महानगरपालिकाबाट आवश्यक प्रक्रिया पूरा गरी प्रमाणपत्र लिइएको समितिले जनाएको छ।
भवनको आर्थिक उपयोगका लागि पहिलो तला पार्टी प्यालेसलाई भाडामा दिने निर्णयअनुसार छलफल अघि बढाइएको र सम्झौता अन्तिम चरणमा पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, चौथो, पाँचौँ र छैटौँ तला भाडामा दिने विषयमा कार्यविधि तयार गरी छलफल भइरहेको जनाइएको छ।
भवन निर्माणका क्रममा आवश्यक पर्ने आकस्मिक आर्थिक व्यवस्थापनका लागि प्रभु बैंकबाट रु. १ करोडको कर्जा एक वर्षका लागि नवीकरण गरिएको छ। उक्त रकम हालसम्म प्रयोग नगरिएको समितिले जनाएको छ।

प्रहरी बिट मर्मतमा सहयोग

समितिको कम्पाउन्डको दक्षिणतर्फ रहेको क्षतिग्रस्त प्रहरी बिट भवनको मर्मतसमेत सम्पन्न गरिएको छ। उक्त कार्यमा थकाली महिला परिवार, थकाली युवा परिवार, नेपाल–जापान सम्पर्क समिति, थासाङ स्पोर्टस् क्लब तथा विभिन्न समाजसेवीको सहभागिता र सहयोग रहेको प्रतिवेदनमा उल्लेख छ।

विद्यार्थी, ज्येष्ठ नागरिक र खेलाडी सम्मान

समितिले आफ्नो ५१औँ स्थापना दिवसका अवसरमा एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने एक छात्र र एक छात्रालाई सम्मान गरेको थियो। सोही अवसरमा ८० वर्ष उमेर पुगेका थकाली ज्येष्ठ नागरिक, सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडीलाई समेत सम्मान गरिएको थियो।

समितिको इतिहासमा पहिलोपटक अन्तर क्ह्यु तारा प्रतियोगिता आयोजना गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।
सांस्कृतिक तथा खेलकुद गतिविधिमा सक्रिय सहभागिता
२०८२ सालको तोरन्ल आम निर्वाचनलाई लक्षित गर्दै थकाली सेवा समिति नेपालको निर्देशनअनुसार विभिन्न सांस्कृतिक तथा सामुदायिक कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।

नवनिर्मित भवनमा अन्तर प्ह्या (चन) तारा खेल, अन्तर क्ह्यु नृत्य प्रतियोगिता तथा दोहोरी गीत कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरिएको थियो। माघे संक्रान्तिको अवसरमा म्याग्दी मगर संघले आयोजना गरेको तारा खेल प्रतियोगिता तथा आदिवासी जनजाति महासंघद्वारा आयोजित विभिन्न कार्यक्रममा समेत समितिको सहभागिता रहेको जनाइएको छ।

९६ जनाको काजकिरिया र १२ जोडीको खिमी च्हुब

समितिले सामाजिक तथा धार्मिक संस्कारसम्बन्धी सेवा पनि निरन्तर प्रदान गर्दै आएको जनाएको छ। २०८२ साल भदौ १४ गतेदेखि २०८३ साल असोज ११ गतेसम्म ९६ जनाको काजकिरिया तथा १२ जोडीको थकाली धार्मिक संस्कारअनुसार खिमी च्हुब कार्यक्रम सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ।

मृत्यु संस्कारसम्बन्धी विवरणमा च्योकी (गौचन) १०, साल्की (तुलाचन) २, टुहिमचन (शेरचन) ५ र फुकी (भट्टचन) १ गरी १८ जनाको विवरण समेटिएको छ।

चन्दादातालाई सम्मान गर्न स्मारिका फ्रेम निर्माण

नवनिर्मित भवनका लागि रु. ५ लाखभन्दा बढी चन्दा दिने दाता वा दाताले इच्छाएका व्यक्तिको तस्वीर फ्रेममा राखेर सम्मान गर्ने व्यवस्था अघि बढाइएको छ। यसका लागि सह–सचिव मनोज शेरचनको संयोजकत्वमा फ्रेम निर्माण तथा सजावट उपसमिति गठन गरी काम भइरहेको समितिले जनाएको छ।

लेखापरीक्षक पुनः नियुक्तिको प्रस्ताव

साधारणसभामा आर्थिक वर्ष २०८३/०८४ को लेखापरीक्षणका लागि बराल के एण्ड एसोसिएट्सका लेखापरीक्षक कमल बराललाई पुनः नियुक्त गर्ने तथा पारिश्रमिक रु. ५० हजार कायम गर्ने प्रस्ताव अनुमोदनका लागि पेश गरिएको छ।

समितिले आगामी दिनमा थकाली समुदायको धर्म, संस्कृति, भाषा, परम्परा, भेषभूषा, रीतिरिवाज तथा संस्कारको संरक्षणलाई निरन्तरता दिने जनाएको छ। साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्पराप्रति जिम्मेवार बनाउँदै काठमाडौंमा बसोबास गर्ने थकाली समुदायबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखिएको प्रतिवेदनमा उल्लेख छ।

साधारणसभामा समितिका विभिन्न गतिविधिमा सहयोग गर्ने थकाली सेवा समिति नेपाल केन्द्र, थकाली अनुसन्धान केन्द्र, थकाली महिला परिवार, थकाली युवा परिवार, थासाङ स्पोर्टस् क्लब, नेपाल–जापान सम्पर्क समिति, थकाली स्वास्थ्यकर्मी परिवार नेपाल तथा थकाली भान्सा संघलगायत संघसंस्थाप्रति धन्यवाद व्यक्त गरिएको थियो।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार