काठमाडौं । ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति प्रतिवेदन, वित्तीय विवरण तथा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम पारित गर्नुका साथै नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सभाले सदस्यहरूलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै, सदस्यहरूको बचत तथा ऋण कारोबारमा आधारित संरक्षित पुँजी फिर्ता कोषबाट ४१ लाख ५४ हजार ३८५ रुपैयाँ वितरण गर्ने प्रस्तावसमेत स्वीकृत भएको छ।
नवीन श्रेष्ठको अध्यक्षतामा सञ्चालक समिति चयन
साधारण सभाबाट नवीन श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रूपमा चयन भएको छ।
नयाँ सञ्चालक समितिको उपाध्यक्षमा रामेश्वर थापा, सचिवमा रमेश गिरी र कोषाध्यक्षमा बबिता अमात्य चयन भएका छन्। सदस्यहरूमा नवीन श्रेष्ठ, प्रकाश श्रेष्ठ र सावित्रा कार्की चयन भएका छन्।
संस्थाको लेखा सुपरिवेक्षण समिति भने यथावत् कायम गरिएको छ।
२ करोड ८१ लाखभन्दा बढी आयकरअघिको नाफा
अध्यक्ष नवीन श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२/८३ मा १५ करोड ८१ लाख ८२ हजार रुपैयाँ कुल आय आर्जन गरेको छ। सो अवधिमा संस्थाले २ करोड ८१ लाख ८० हजार ४४७ रुपैयाँ ७९ पैसा आयकरअघिको नाफा कमाएको छ।
संस्थाको कुल खर्च १३ करोड १ लाख १३ रुपैयाँ ९७ पैसा रहेको छ। यसमध्ये ब्याज खर्च ८ करोड ५७ लाख ८० हजार २५ रुपैयाँ ७७ पैसा, कर्मचारी खर्च २ करोड २३ लाख ९ हजार ७२१ रुपैयाँ ७५ पैसा र प्रशासनिक खर्च १ करोड २९ लाख ६६ हजार ७४१ रुपैयाँ २१ पैसा रहेको छ।
त्यस्तै, कर्जा नोक्सानी व्यवस्थाका लागि १९ लाख ७९ हजार ९०१ रुपैयाँ १३ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

सदस्य संख्या ३ हजार ९८९
निष्क्रिय सदस्य तथा खाताको अभिलेख शुद्धीकरण गरेपछि संस्थाको कुल सदस्य संख्या ३ हजार ९८९ कायम भएको छ। जसमा १ हजार ९५१ महिला र २ हजार ३८ पुरुष सदस्य रहेका छन्।
त्यस्तै, संस्थामा ५०३ जना बाल बचतकर्ता रहेका छन्। निष्क्रिय सदस्यको अभिलेख शुद्धीकरणका कारण अघिल्लो वर्षको ४ हजार २२० सदस्यको तुलनामा यस वर्ष सदस्य संख्या २३१ जनाले घटेको भए पनि बाल बचततर्फ उल्लेख्य वृद्धि भएको छ।
बाल बचत रकम ३७.८१ प्रतिशतले वृद्धि भई ३ करोड ६ लाख ७८ हजार ४८५ रुपैयाँ ९७ पैसा पुगेको जनाइएको छ।
वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा जोड
संस्थाले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि अनुमानभन्दा बढी कर्जा नोक्सानी व्यवस्था गर्दै सावधानीपूर्ण वित्तीय अभ्यासलाई प्राथमिकता दिएको जनाएको छ।
त्यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नियमको पालना गर्दै नियमित रूपमा समग्र कारोबार प्रतिवेदन तथा शंकास्पद कारोबार प्रतिवेदन सम्बन्धित निकायमा पेस गर्दै आएको जनाइएको छ।
संस्था राष्ट्रिय सहकारी नियमन प्राधिकरण तथा कर्जा सूचना केन्द्रको सदस्य रहेको छ। साथै, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) द्वारा सञ्चालित सुपरिवेक्षण जाँच तथा विश्लेषण कार्यक्रममा समेत सहभागी हुँदै आएको छ।
यसबाट संस्थाको अनुगमन, जोखिम व्यवस्थापन, वित्तीय अनुशासन तथा संस्थागत सुशासनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्य रहेको जनाइएको छ।
साधारण सभाले आगामी दिनमा सदस्य सेवा, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन, प्रविधिको प्रयोग र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै सहकारीको दिगो विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।












