रसुवा । विपद्का कारण बाटोघाटो अवरुद्ध भएपछि राहत तथा उद्धार सेवाबाट समेत टाढा रहेका रसुवाको स्यार्फुवेशीका सामुदायिक कुकुरहरूका लागि नेपाल पशु कल्याण तथा वातावरण समाज (NAWES) ले खाद्य सामग्री पुर्याएको छ । सरकारी पहल तथा समन्वयमा WFP को हेलिकप्टरमार्फत TEMPLE DOG RESCU र IFAW को आर्थिक सहयोगमा सामुदायिक कुकुरहरुका लागि आवश्यक खाद्य सामग्री स्यार्फुवेशीसम्म पुर्याइएको हो ।
विपद्ले सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा मानिससँगै सामुदायिक कुकुरहरूको अवस्था पनि अत्यन्त कठिन बनेको थियो । खाना र पानीको अभावमा ती निर्दोष जीवहरू भोकसँग संघर्ष गरिरहेका थिए । मानिसहरूका लागि राहत तथा उद्धारका प्रयास भइरहे पनि आफ्नो पीडा व्यक्त गर्न नसक्ने ती आवाजविहीन जीवहरूका लागि भने यश ठाउमा सहयोग पुग्न कठिन भइरहेको थियो ।
यही अवस्थालाई ध्यानमा राख्दै NAWES ले सरकारी पहलमा समन्वय गरी दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा रहेका सामुदायिक कुकुरसम्म खाद्य सामग्री पुर्याएको हो । विपद्को समयमा पशुलाई समेत राहतको दायरामा समेट्दै गरिएको यो पहल पशुकल्याण र मानवीय संवेदनाको महत्वपूर्ण उदाहरण बनेको छ ।
NAWES संस्थाकी अध्यक्ष सुमेदा गौतमले विपद्का कारण भोकै बस्न बाध्य सामुदायिक कुकुरहरूका लागि स्यार्फुवेशीसम्म खाना पुर्याउन सकिएकोमा आफू निकै खुसी र भावुक भएको बताइन् । मानिसहरूका लागि राहत पुगिरहेका बेला बोल्न नसक्ने निर्दोष जीवहरू भोकै नपरून् भन्ने उद्देश्यले पहल गरिएको उनको भनाइ छ । “मानिसहरूका लागि राहत पुगिरहँदा बोल्न नसक्ने यी निर्दोष जीवहरू भोकै नपरून् भन्ने हाम्रो प्रयास हो । उनीहरूका लागि केही खाना पुर्याउन सक्नु पनि ठूलो सन्तोषको विषय हो,” उनले भनिन् ।
NAWES का कार्यकारी निर्देशक हरि प्रसाद जोशीले विपद्का बेला पशुहरू पनि उत्तिकै पीडित हुने भएकाले उनीहरूको जीवन र कल्याणलाई राहत तथा उद्धारको प्राथमिकतामा समेटिनुपर्ने बताए । उनका अनुसार स्यार्फुवेशीमा रहेका सामुदायिक कुकुरहरू आफैं राहत माग्न सक्ने अवस्थामा थिएनन् र बाटो अवरुद्ध भएका कारण उनीहरूसम्म पुग्नसमेत कठिन थियो ।
“विपद्को समयमा मानिसको पीडा देखिन्छ, सुनिन्छ र उनीहरूका लागि राहतको पहल हुन्छ । तर यी सामुदायिक कुकुरहरू न आफ्नो पीडा भन्न सक्छन्, न राहत माग्न सक्छन् । उनीहरू भोक, डर र अभावबीच त्यहीँ बस्न बाध्य थिए । यस्तो अवस्थामा उनीहरूसम्म खाना पुर्याउनु केवल सहयोग होइन, आवाजविहीन जीवप्रतिको हाम्रो जिम्मेवारी पनि हो,” जोशीले भने ।
उनले सरकारी पहल तथा समन्वयमा यस्तो कठिन अवस्थामा रहेका पशुसम्म राहत पुर्याउन सकिनु उदाहरणीय भएको बताए । “विपद् व्यवस्थापन मानिस केन्द्रित मात्र हुनुहुँदैन । मानिससँगै पशुहरूको जीवन र कल्याणलाई पनि राहत व्यवस्थापनको अभिन्न हिस्सा बनाउनुपर्छ । सरकारी निकायको पहल, WFP को हेलिकप्टर सहयोग तथा TEMPLE DOG RESCUE र IFAW को आर्थिक सहयोगले दुर्गम क्षेत्रमा रहेका यी जीवसम्म राहत पुर्याउन सम्भव भएको हो,” उनले भने ।
विपद्को पीडा मानिसले मात्र होइन, पशुहरूले पनि उत्तिकै भोगिरहेका हुन्छन् । घर, गोठ र बासस्थान गुमाएका तथा खाना र पानीको पहुँचबाट टाढा भएका पशुहरू आफ्नो जीवन जोगाउन संघर्ष गरिरहेका हुन्छन् । विशेषगरी सामुदायिक कुकुरजस्ता आवाजविहीन जीवहरूका लागि यस्तो अवस्था अझ कठिन हुन्छ । उनीहरू न आफ्नो पीडा शब्दमा व्यक्त गर्न सक्छन्, न कसैसँग सहयोग माग्न ।
त्यसैले संकटको समयमा उनीहरूलाई सम्झेर गरिएको एउटा प्रयास पनि उनीहरूको जीवनका लागि ठूलो सहारा बन्न सक्छ । स्यार्फुवेशीमा NAWES ले पुर्याएको यो खाद्य सहयोगले विपद्का बेला मानिससँगै पशुहरूको जीवन जोगाउने जिम्मेवारी पनि राज्य, सम्बन्धित निकाय र समाजको साझा दायित्व हो भन्ने सन्देश दिएको छ ।
पशु कल्याण तथा वातावरणको क्षेत्रमा लामो समयदेखि सक्रिय अमि कट्टेल (मधु)ले विपद्का समयमा पशुहरूको अवस्था झनै संवेदनशील बन्ने भएकाले उद्धार तथा राहतका हरेक प्रयासमा उनीहरूलाई पनि प्राथमिकताका साथ समेटिनुपर्ने बताइन् । कट्टेलले स्यार्फुवेशीका सामुदायिक कुकुरहरूका लागि हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्याउनु केवल तत्कालीन भोक मेटाउने प्रयास मात्र नभई विपद्का समयमा पशुप्रति मानवीय संवेदना र जिम्मेवारी देखाउने महत्वपूर्ण कदम भएको बताइन् ।
“विपद्का बेला मानिसहरू आफ्नो पीडा व्यक्त गरेर सहयोग माग्न सक्छन्, तर पशुहरूले आफ्नो अवस्था बताउन सक्दैनन् । त्यसैले उनीहरूको पीडा बुझेर समयमै सहयोग पुर्याउनु हाम्रो जिम्मेवारी हो । स्यार्फुवेशीका सामुदायिक कुकुरहरू लामो समयदेखि खानाको अभावमा रहेका अवस्थामा उनीहरूसम्म खाद्य सामग्री पुर्याउन सक्नु हाम्रो लागि पनि भावुक क्षण हो,” उनले भनिन् ।
स्थानीयका अनुसार स्यार्फुवेशीमा करिब ६०–७० वटा सामुदायिक कुकुरहरू लामो समयदेखि खाना र पानीको अभावमा भोकभोकै बस्न बाध्य थिए । विपद्का कारण सडक तथा यातायात सम्पर्क विच्छेद भएपछि उक्त क्षेत्रमा कुनै पनि राहत सामग्री पुग्न सकेको थिएन । भोक र अभावका कारण कुकुरहरू छट्पटाइरहेको अवस्थामा NAWES ले हेलिकप्टरमार्फत खाद्य सामग्री पुर्याएर उनीहरूलाई खाना खुवाउन सहयोग गरेको स्थानीयहरूले बताएका छन् ।
स्थानीयका अनुसार विपद्को कठिन अवस्थामा सामुदायिक कुकुरहरूका लागि समेत राहत सामग्री पुर्याइनु निकै महत्वपूर्ण सहयोग हो । मानिसहरूका लागि राहत तथा उद्धारका प्रयास भइरहेका बेला लामो समयदेखि खान नपाएका कुकुरहरूका लागि NAWES ले गरेको यो पहलले उनीहरूलाई तत्काल ठूलो राहत मिलेको स्थानीयको भनाइ छ ।













