१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं जय नेपाल फाउन्डेसनका अध्यक्ष बद्री अर्यालद्वारा लिखित ‘राजनीतिक दिग्दर्शन’ र ‘आर्थिक दिग्दर्शन’ पुस्तक काठमाडौंमा आयोजित एक समारोहबीच लोकार्पण गरिएको छ।
पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, लेखक तथा समालोचक नवराज लम्साल, प्रकाशक हरि पराजुलीलगायतले संयुक्त रूपमा दुवै कृतिको लोकार्पण गरेका हुन्।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री पाण्डेले मुलुकको आर्थिक विकासको नेतृत्व निजी क्षेत्रलाई दिनुपर्ने र सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए। सरकारले सबै काम आफैं गर्ने परम्परागत सोचका कारण अपेक्षित आर्थिक गति हासिल हुन नसकेको उल्लेख गर्दै उनले पूर्वाधार विकास तथा लगानीमा निजी क्षेत्रलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।
लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान कानुनमा आवश्यक संशोधन गर्नुपर्ने उनको भनाइ थियो। देशको अर्थतन्त्र आयातमा आधारित राजस्वमा बढी निर्भर रहेको र सरकारी बजेटको ठूलो हिस्सा नियमित तथा प्रशासनिक खर्चमै जाने गरेको उनले बताए।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिक आन्दोलन र बहसलाई अधिकार प्राप्तिको विषयमा मात्र सीमित नराखी आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। राजनीतिक दलका घोषणापत्र तथा सरकारका प्राथमिकतामा आर्थिक एजेन्डाले अझै पर्याप्त स्थान पाउन नसकेको उनको भनाइ थियो।
पौडेलले राजनीतिक दर्शन, समाज र विद्यालयको पाठ्यक्रमलाई आर्थिक विषयसँग जोड्न नसक्दा आर्थिक उन्नतिबारे समाजमा पर्याप्त ज्ञान विकास हुन नसकेको बताए। युवा जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने र बाह्य स्रोतमा मात्र निर्भर भएर मुलुकको आर्थिक विकास सम्भव नहुने भन्दै उनले देशभित्र उपलब्ध प्राकृतिक तथा अन्य स्रोतसाधनको वैज्ञानिक परिचालनमा जोड दिए।
समारोहको अन्त्यमा लेखक बद्री अर्यालले छोटो मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे। आफ्ना दुवै कृतिलाई पाठक तथा शुभेच्छुकले माया र सुझाव दिने अपेक्षा व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्तै पुस्तकहरू लेख्दै सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा साहित्य, राजनीति, अर्थतन्त्र तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।











