इरानमाथि ठूलो हमला गर्ने तयारीबाट पछि हटे ट्रम्प, सेनालाई कारबाही रोक्न आदेश



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध तयारी अवस्थामा रहेको ठूलो सैन्य कारबाहीलाई हालका लागि स्थगित गरेका छन्। अमेरिकी सञ्चारमाध्यमका अनुसार शीर्ष सुरक्षा अधिकारीहरूसँगको बैठकपछि ट्रम्पले सेनालाई नयाँ ठूला हमला नगर्न निर्देशन दिएका हुन्।

मध्यपूर्वमा तैनाथ अमेरिकी सेनासँग प्याट्रियट इन्टरसेप्टर मिसाइलसहित हवाई रक्षा प्रणालीको भण्डार घट्दै गएको र ठूलो सैन्य अभियानले अमेरिकी सेना तथा सहयोगी राष्ट्रको सुरक्षा जोखिममा पार्न सक्ने चेतावनीपछि यो निर्णय गरिएको बताइएको छ।

यससँगै लगातार १३ रातसम्म इरानका सैन्य लक्ष्यमा बमबारी गरेको अमेरिकाले शुक्रबार राति भने कुनै हवाई हमला गरेन। उता, इरानले बहराइनस्थित अमेरिकी फिफ्थ फ्लिटको नौसैनिक अखडामा ड्रोन र मिसाइल प्रहार गरेको जनाएको छ।

जोर्डनमा तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका थप सतर्क बनेको छ। यद्यपि, पेन्तागनले आवश्यक परे इरानविरुद्ध ठूलो सैन्य अभियान सञ्चालन गर्न सेना र हतियार तयारी अवस्थामा राखेको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतवार