काठमाडौं । साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ३०० भन्दा बढी घाइते छन् । प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले पहिले धेरै ड्रोन प्रहार गरेर त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको देखिएको छ । यमनबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद विमानस्थललाई निशाना बनाएका थिए ।
अनुसन्धानले आक्रमणको पूर्वसूचना हवाई प्रतिरक्षा प्रणालीले किन दिन सकेन भन्ने विषयलाई समेत समेटेको एसोसिएटेड प्रेस (एपी) ले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट हुथी विद्रोहीहरुसँग उडानका क्रममा दिशा परिवर्तन गर्नसक्ने वारहेड जडित क्षेप्यास्त्र तथा उन्नत हतियार प्रणाली रहेको बताइएको छ । यस्ता हतियारले साउदी अरबले प्रयोग गर्ने प्याट्रियटलगायतका क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई चुनौती दिएको ठानिएको छ ।












