बागमतीमा आजदेखि ८ मन्त्रालय लागू हुने, ६ मन्त्री पदमुक्त हुने



हेटौँडा । बागमती प्रदेश सरकारले आज (१ साउन २०८३) देखि मन्त्रालयको सङ्ख्या १४ बाट घटाएर ८ मा झारेको छ। गत वैशाख २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार नयाँ संरचना कार्यान्वयनमा आएको हो।

सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवँ योजनामन्त्री प्रभात तामाङका अनुसार मन्त्रालयको कार्यविभाजन र मन्त्रीहरूको जिम्मेवारी पुनःनिर्धारण सुक्रबार टुङ्गो लगाइने छ।

मन्त्रालय घटेसँगै सत्ता साझेदार नेपाली काङ्ग्रेस र नेकपा एमालेका गरी ६ जना मन्त्री पदमुक्त हुने भएका छन्। हाल काङ्ग्रेस–एमाले गठबन्धनबीच सरकारको नेतृत्वलाई लिएर विवाद बढिरहेका बेला मन्त्रालय पुनःसंरचनाले प्रदेश राजनीतिलाई थप तरङ्गित बनाएको छ।

नयाँ संरचनाअनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला, आर्थिक मामिला, खानेपानी–ऊर्जा तथा सिँचाइ, भौतिक पूर्वाधार, कृषि तथा पशुपन्छी, उद्योग–भूमि तथा प्रशासन र सामाजिक विकास गरी ८ मन्त्रालय मात्रै रहने छन्।

यसैबीच, काङ्ग्रेस–एमाले सत्ता सहकार्य अन्त्य हुने सङ्केतसँगै बागमतीमा पनि नयाँ सरकार गठनको राजनीतिक समीकरणबारे छलफल तीव्र बनेको छ।

प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रवार