ललितपुर उद्योग वाणिज्य संघद्वारा राजस्व नीति तथा व्यवसायिक वातावरणबारे अन्तरक्रिया सम्पन्न



ललितपुर ।
ललितपुर उद्योग वाणिज्य संघ को आयोजनामा स्थानीय सरकारको राजस्व नीति तथा व्यवसायिक वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ । संघको राजस्व समितिद्वारा आयोजित कार्यक्रम कुमारीपाटीस्थित अग्नी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

कार्यक्रममा मञ्जली शाक्य बज्राचार्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, संघका पदाधिकारी, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्थानीय तहको राजस्व नीति, कर प्रणाली, व्यवसाय सञ्चालनका चुनौती तथा निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागी व्यवसायीहरूले स्थानीय तहबाट लगाइने कर तथा शुल्कलाई व्यवसायमैत्री, पारदर्शी र व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए ।
उनीहरूले उद्योग तथा व्यापार क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिको आवश्यकता रहेको उल्लेख गर्दै लगानीमैत्री वातावरण निर्माण, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा निजी क्षेत्रसँग नियमित संवाद कायम गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर मञ्जली शाक्य बज्राचार्यले स्थानीय सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै व्यवसायमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताइन् । उनले उद्योगी–व्यवसायीबाट प्राप्त सुझावलाई नीति निर्माण र कार्यान्वयन प्रक्रियामा समेटिने विश्वास व्यक्त गरिन् ।

उनले स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन उद्योग तथा व्यापार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै महानगर र निजी क्षेत्रबीच निरन्तर संवाद तथा समन्वय आवश्यक रहेको धारणा राखिन् ।
संघका पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन, निजी क्षेत्रको हकहित संरक्षण तथा व्यवसायिक वातावरण सुधारका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।

प्रकाशित मिति : २०८३ जेष्ठ ७ गते बिहिवार